प्रदेश १ सरकारले कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई थप सुविधा दिने
फाइल फाेटाे
विराटनगर : प्रदेश १ सरकारले काेभिड संक्रमणका बिरामीको उपचारमा खटिएका चिकित्सकसहितको टिमलाई विभिन्न सुविधा दिने निर्णय गरेको छ । सरकारको बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाईकर्मी साथै कर्मचारी लक्षित विभिन्न सुविधाका कार्यक्रम घोषणा गरेको हो । केही दिनअघि मात्र विभिन्न सुविधा माग गर्दै कोशी कोभिड अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन गरेका थिए ।
मन्त्रीपरिषद्को बैठकले प्रदेश सरकारद्वारा खटाई कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड-१९ का कारणबाट मृत्यु भएमा निजको परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट २५ लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
यसै गरी प्रदेश सरकारद्वारा खटाई कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाईकर्मी तथा कर्मचारीहरू कोभिड-१९ बाट संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । साथै, यसरी कोभिड-१९ बाट संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्चसमेत प्रदेश सरकारले व्यहोर्ने रहेको छ । पहिलो चरणको संक्रमणमा कोभिड अस्पतालमा काम गर्ने सबै स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारको खर्चमा विराटनगरको इष्टन स्टार होटलमा राखिएको थियो ।
यस्तै प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।
कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभई होटल क्वारेन्टिन बस्नु पर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टिन तथा चालक, सफाइकर्मी, कार्यालय सहयोगीका साथै व्यवस्थापनमा खटिने अन्य कर्मचारीहरूका लागि प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजासहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गर्ने र सो बमोजिमको क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि बिनियोजित बजेटबाट भुक्तानी गर्ने प्रदेश सरकारले निर्णय गरेको सामाजिक विकासमन्त्री उषाकला राईले जानकारी दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया