जडिबुटीको निकासी पैठारीलाई सरकारले व्यवस्थित गर्ने
फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् ।
महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन तर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्धनका साथै आयुर्वेद औषधिको उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडि बढाइने बताए । राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडि बढाउन आवश्यक नीतिगत निर्णय गरिने उनको भनाइ थियो ।
उनले प्रत्येक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति ल्याइने बताए । स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्न आयुर्वेद, पंचकर्म, योग, ध्यान कार्यक्रम संचालन गर्न अस्पताल, उपचार केन्द्रहरु स्थापना गरिने उनले भनाइ राखे ।
‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा नेपाल र भारतका आयुर्वेद विज्ञ र युरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया