राजनीति

राष्ट्रपति निर्वाचन : सत्ता गठबन्धनसँग कति छ मतभार ?

इकागज |
फागुन २५, २०७९ बिहीबार ७:२८ बजे

काठमाडौँ- राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । 


राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र  प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस १६२२१, नेकपा माओवादी केन्द्र ७७२८, जनता समाजवादी पार्टी २०९७, एकिकृत समाजवादी पार्टी २४७८, जनमत पार्टी १२४२, लोकतान्त्रिक समाजवादी पार्टी ८२७, नागरिक उन्मुक्ति पार्टी ७६५ र राष्ट्रिय जनमोर्चाको १५८ मतभार रहेको छ ।

त्यस्तै नेकपा एमालेसँग १५२८१ मतभार रहेको छ । २२१० मतभार रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्‍ने निर्णय गरेको छ ।

१५८० मतभार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बस्दैछ । त्यस्तै २२३ मतभार रहेको नेपाल मजदुर किसान पार्टी, ९६ मतभार रहेको हाम्रो नेपाली पार्टी र १२८७ मतभार रहेका स्वतन्त्रहरू अनिर्णीत छन् ।

राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३९४ मतभार चाहिनेछ ।


Author

थप समाचार
x