राजनीति

बलिदान र संषर्षबाट प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थाल्यो : मन्त्री शर्मा

इकागज |
फागुन २७, २०७९ शनिबार १६:२ बजे

तनहुँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छिन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले बलिदान र संषर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरिन् । 


मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताइन् । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । उनले भनिन्, 'स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।'

विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरिन् । स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न संघीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भनिन्, 'बलिदान र संघर्षबाट प्राप्त उपलब्धि गुम्न दिँदैनौँ । स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध छ ।' गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताइन्  । 

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताए । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय सरकार प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए । 

कार्यक्रममा गाउँपालिकाको विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ । 
रासस


Author

थप समाचार
x