मन्त्री श्रेष्ठ भन्छन् : अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन
फाइल तस्बिर
काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् ।
बिहीबार नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरे ।
मन्त्री श्रेष्ठले अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै व्यापार घाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे ।
मन्त्री श्रेष्ठले ऋणको ब्याजदर अहिले धेरै नै बढेको भए पनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको बताए ।
यस्तै मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कूटनीतिक सम्बन्धलाई नागरिक स्तरमा विकास गर्दै दुई मुलुकबीच एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने धारणा राखे । उनले आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्रको विकासमा जोड दिन आवश्यक रहेको बताए ।
उनले नेपालले इटलीमा वार्षिक १ अर्ब १४ करोडको सामान निर्यात गर्ने गरेको र इटलीसँग नेपालको व्यापार घाटा २ अर्ब ९६ करोड रुपैयाँ रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया