राजनीति

जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौं : मन्त्री शर्मा

इकागज |
चैत १६, २०७९ बिहीबार २०:५१ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानुन ल्याउने तयारी भइरहेको बताएकी छिन् ।

मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालको बिदाई कार्यक्रममा सरकारका प्रवक्ता शर्माले सञ्चार क्षेत्रका विज्ञ तथा सरोकारवालाको सल्लाह र सुझावका आधारमा सञ्चार ऐन ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।


उनले सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै इमान्दारीपूर्वक जनतालाई अझै प्रत्यक्ष लाभ हुने गरी नतिजामुखी काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । उनले भनिन्, 'सचिवज्यू जहाँ भए पनि उहाँको योग्यता र क्षमताको जनताले अनुभूत गर्न पाउनेछन् भन्नेमा म विश्वस्त छु ।'

सोही अवसरमा सचिव अर्यालले आफ्नो कार्यकालमा एकीकृत कार्यालयको व्यवस्थापन कार्य, सञ्चार ऐन तयार गर्ने, चलचित्र स्टुडियो निर्माण र डिजिटल साक्षरता अभियानलगायतका कार्यक्रम गर्न सफल भएको बताए । 
 
यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो । सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा सरुवा भएका हुन् । उनी करिब डेढ वर्षदेखि सूचना सञ्चार मन्त्रालयको सचिव थिए ।


Author

थप समाचार
x