कोभिशिल्ड खोप कमिशन चलखेलका दोषीलाई कारबाही गर्न राप्रपाको माग
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनस्वास्थसँग खेलवाड गर्ने कमिशन खोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुत्तः विज्ञप्ति जारी गर्दै खोपको सहज आपूर्ति गर्न माग गरेका हुन् ।
'संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रूपमा लिइनु अमानवीय र व्यवसायिक धर्मविपरीतको कार्य हो । जनस्वास्थसँग खेलवाड गर्ने कमिशनखोरलाई तत्काल छानबिन र कारवाही गरि खोपको सहज आपूर्ति गर्न राप्रपा माग गर्दछ,' अध्यक्षत्रयले जारी गरेको विज्ञ्प्तिमा उल्लेख छ, 'विद्यमान कोभिड संकटको नियन्त्रण र रोकथाममा सम्पूर्ण सामर्थ्य लगाई नेपाली जनजीवनलाई थप नोक्सान हुनबाट जोगाउन सरकारको थप तदारुकताको खाँचो छ ।'
भारतको सिरम इन्स्टिच्यूटसँग खरिद भएको र खरिद गर्ने भनिएको कोभिशिल्ड खोप कमिशन चलखेलका कारण आयात रोकिनुले आश्चर्यचकित भएको विज्ञप्तिमा उल्लेख छ ।
देश नै अप्ठेरोमा परेको बेला हेलिकप्टर कम्पनीहरूले भाडामा व्यापक वृद्धि गरिनु, अत्यावश्यक औषधि, अक्सिजन लगायतका वस्तुको कालाबजारी हुनु अकल्पनीय र नेपालीको मौलिक चरित्र विपरीतका गतिविधि भएको उनीहरूले बताएका छन् । यस्ता कार्यको प्रभावकारी अनुगमन गरि दोषीमाथि कारबाही गर्न राप्रपाले सरकारसँग माग गरेको छ ।
संक्रमण हुनबाट जोगिन भौतिक दूरी कायम, मास्कको अनिवार्य प्रयोग जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न राप्रपाले अपिल पनि गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया