युनिफाइड कोभिड-१९ अस्पताल बनाउने निर्णय
संसद् अधिवेशन सार्ने वा फरक व्यवस्था अनुरुप भोटिङ गराउने विषयमा मन्त्रिपरिषद् अलमलमा
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड-१९ अस्पताल बनाउने निर्णय गरेको छ । कोभिड-१९विरुद्धको लडाइँमा मुलुकभरीका अस्पतालको कमान्ड गर्नेगरी पाँच सय शय्याबाट युनिफाइड कोभिड-१९ अस्पताल सुरु गरिने निर्णय भएको हो ।
मन्त्रिपरिषद्को बैठक कोभिड-१९ को महामारीलाई कसरी नियन्त्रण गर्ने भन्नेमै केन्द्रित रहेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । ठूलै राजनीतिक निर्णय हुनसक्ने आशंकाहरू भइरहँदा सरकारले कोभिडविरुद्धको लडाइँलाई कसरी चुस्त बनाउने भन्नेमा नै लामो बैठक गरेको अर्का एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार काेभिड रोकथाम र अस्पतालहरूका व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा बैठक बढी केन्द्रित रह्यो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कोभिड महामारी चुनौतिपूर्ण ढंगले बढिरहेको भन्दै अस्पतालको सहज व्यवस्थापनका उपायहरु खोज्नुपर्ने भनेपछि अधिक छलफल त्यसमा नै भएको हो ।
बैठकमा एकीकृत कोभिड अस्पताल सञ्चालन गर्नेबारे प्रस्ताव आएको र त्यसमा थप छलफलपछि निर्देशिकासहितको व्यवस्थित गर्ने पनि भनिएको छ । बैठकमा सोमवार शुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिने प्रक्रियामा कोभिड-१९ संक्रमित सांसदहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । त्यस विषयमा विभिन्न विकल्पमा छलफल भए पनि निर्णय हुन नसकेकोसमेत ती मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीले भने,'संसद् अधिवेशन पछाडि सार्ने वा त्यहाँ फरक व्यवस्था गरेर भोटिङको व्यवस्ठा मिलाउने भन्नेमा सामान्य छलफल भए पनि यसो नै गर्ने भन्ने निर्णय भएको छैन ।'
संक्रमित सांसदलाई कतै टाढा राखेर मतदानको व्यवस्था गर्नेबारे पनि छलफल भए पनि धेरैले जोखिम मोल्न नहुने बताएका छन् । शनिबार साँझसम्म २६ जना सांसदमा कोभिड संक्रमण देखिएको छ भने कैयन सांसद्को अझै रिपोर्ट आएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया