नेकपा विवाद फरक मोडमा : ओलीले किन जुधाए बैठक ?
'बैठक जुधाउने कार्यले ‘सबै हुँ’ भन्ने प्रधानमन्त्रीको सोचको उपज'
काठमाडौं : सत्तारुढ नेकपा सचिवालय बैठकलाई चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि आन्तरिक राजनीतिमा फरक मोड देखा परेको छ । प्रधानमन्त्रीले निकै लामो छलफलपछि बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । कात्तिक २८ को सचिवालय बैठकले आज एक बजे अर्को बैठकको तय भएको थियो ।
पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले इकागजसँग भने, ‘प्रधानमन्त्रीले आज १ बजे मन्त्रीपरिषद् बैठक राखेको जानकारी आएको छ यो ठीक होइन ।' अर्का अध्यक्ष एवं सचिवालय सदस्यहरुसँग सल्लाह नगरी तोकिएको समयमा बैठक जुधाउने कार्यले ‘सबै हुँ’ भन्ने प्रधानमन्त्रीको सोचको उपजको रुपमा श्रेष्ठले ब्याख्या गरेका छन् । ‘हामी अन्तिम समयसम्म पनि दललाई मिलाएर लैजानुपर्छ । एकल निर्णयमा होइन सामूहिक निर्णयमा हिँड्नुपर्छ । सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउने हो,’ श्रेष्ठले भने, ‘कसैको हठ र अहंमताले कैयन मुलुकमा पार्टी र आफ्नो अस्तित्व नै समाप्त भएका उदाहरण छन् ।’
पार्टी नै फुट्ने अवस्था आएको हो त भन्ने प्रश्नमा उनले भने, ‘पार्टी फुट्नु हुँदैन, किनकि यो पार्टी यहाँसम्म आइपुग्नुमा सबैको उत्तिकै मेहनत छ । नेपाल मात्र होइन विश्वमा कैयन दलहरु फुट्ने घोषणा हुँदा त्यो घोषणासभामा नै आफूले सबै जिम्मेवारी लिएर पार्टी बचाएका नेता पनि छन् । नेताले गर्ने त्यो त्याग हो, तर यहाँ त सानो घेरामा रहमाएर मुलुक र दललाई बर्बादीतर्फ लैजाने प्रयत्न हुँदैछ यो दु:खद हो ।’
प्रधानमन्त्रीले राति मन्त्रिपरिषद बैठक तय गरेर सुतिसकेका कर्मचारीलाई जानकारी पठाएको पनि एक अधिकारीले बताए । ‘बिदा थियो, सबै आफ्नै काममा थियौं तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीलाई बैठकको जानकारी दिनु भन्दै खबर आयो’ एक सचिवले सुनाए, ‘पौने दश बजेतिर सबै मन्त्रीहरुलाई खबर गर्नु भन्ने आयो ।’ प्रायः बिहीबार बैठक बस्ने गरेकाले त्यति वास्ता गरेका थिएनौं ।’
प्रधानमन्त्रीले आफ्ना दूतमात्र होइन राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि बढाउँदा समेत अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपा सचिवालय बैठक सार्न अस्वीकार गरेपछि समय जुधाएर मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । उनी निकटका नेताहरुको सुझावमा प्रधानमन्त्रीले यो कदम लिएको पनि एक नेताले बताए । मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा छन् । उनीहरु सरकारी काम देखाएपछि पार्टीको बैठक सार्न सहज बनाएका हुन ।
बैठक रोक्न भन्दै ओलीको सन्देश लिएर दाहालकोमा मंगलबार पुगेका महासचिव पौडेल दाहालको अडानपछि फर्केका थिए । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले पनि कुलिङ पिरियड भन्दै केही दिनपछि बैठक गर्न पहल गरिरहेका थिए । तर, अध्यक्ष दाहालतिरका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अनि नेकपा उपाध्यक्ष बामदेव गौतम र सदस्य श्रेष्ठले बैठकबाटै समस्या समाधान हुने हुँदा बैठक सार्ने कुरै नगर्न आग्रह गरिरहेका थिए । दाहालले दूतहरुलाई मात्र होइन राष्ट्रपति भण्डारीको आग्रहलाई नै अस्विकार गरेका थिए ।
प्रधानमन्त्री ओलीको पत्रलाई दाहालले काउन्टर दिंदै अर्को पत्र दिएपछि कात्तिक २८ को बैठक तनावपूर्ण बनेको थियो । त्यस दिन ४० मिनेट पनि बैठक नबसी मंसिर ३ गते एक बजे बस्ने निधो धएको थियो । दुई अध्यक्षबीच आदान–प्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त पत्र सार्वजनिक नै भएपछि नेताहरुबीच थप तनाव उत्पन्न भएको हो ।
दाहालको प्रस्तावलाई आरोप पत्र भन्दै ओलीले त्यो प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । यस्तो प्रस्तवको जवाफ दिन नपर्ने भनिरहेका छनु । उक्त प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश ओलीले दिइसकेका छन् ।
पूर्व प्रधानमन्त्री खनालले बैठक किन सार्ने भन्दै यस्तो गैरजिम्मेवारी कदममा प्रधानमन्त्रीलई अघि नबढ्न सुझाएका छन् । उनले जे हुन्छ बैठकमा नै गरौ भन्ने धारणा राखिरहेका छन् । उनीमात्र होइन कैयन नेताले बैठकबाट प्रधानमन्त्री भाग्न नहुने र अन्य अप्रिय निर्णय लिन नहुने सुझाव दिइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया