राजनीति

धन, पद, कद दिएर र लोभाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र शाह

इकागज |
चैत २०, २०७९ सोमबार १७:१३ बजे

फाइल तस्बिर

सुनसरी- पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् ।

सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्य पद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए । तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको भनाइ छ । 


परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने बताउँदै पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झी हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताए ।​

सम्बोधनको पूर्णपाठ :

उपस्थित दीदीबहीनी तथा दाजुभाइहरू,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईंहरूले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकाँक्षा तथा आवश्यकताहरूलाई औँलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यता भित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधैं राम्रो लाग्छ, हामीलाई सधैं प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरूले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौं । आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरूबाट जस प्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिँदैन ।

निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चयपनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ ।

राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहंम धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईंहरू जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुँदै जावोस् । धन्यवाद । जय नेपाल ।

सुनसरी, इनरुवा, चैत्र २०, २०७९


 


Author

थप समाचार
x