राजनीति

रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा छैन : कृषिमन्त्री भुसाल

इकागज |
चैत २१, २०७९ मंगलबार १६:४० बजे

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको बताएका छन् ।

रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै उनले तर कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रष्टयाएका हुन् । अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले सो मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्था सरकार नरहेको मन्त्री भुसालको भनाइ थियो ।


मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिनेक्रममा उनले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसकेपनि त्यसलाई ल्याउने कुराको टुंगो नभएको पनि सदनलाई जानकारी गराए । मन्त्री भुसालले रासायनिक मलको आवश्यकता व्यवस्था मिलाउन र कृषकलाई ऋण र अनुदान उपलब्ध गराउने कार्यमा दुरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन पनि सांसदहरूलाई आग्रह  गरे ।

मन्त्री भुसालले सरकारले किसानहरूको समस्या समाधानका निम्ति सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि पटकपटक दोहोर्‍याए ।


Author

थप समाचार
x