राजनीति

उपनिर्वाचन : ६९ जना उम्मेदवार चुनावी मैदानमा, मतदाता घटबढ

कति छन् मतदाता ?

तारा वाग्ले |
चैत २१, २०७९ मंगलबार २१:३९ बजे

कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका स्वर्णिम वाग्लेले वैशाख १० तनहुँ १ मा हुने उपनिर्वाचनका लागि सो पार्टीका तर्फबाट मनोनयन दर्ता गराए । रास्वपाका सभापति रवि लामिछाने पनि मनोनयन दर्तामा सहमति जनाउँदै तनहुँ पुगेका थिए । लामिछानेले बिहान चितवन २ मा हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गरेर वाग्लेको समर्थन गर्न तनहुँ पुगेपछि चितवन २ र तनहुँ १ दुवै क्षेत्रको उपनिर्वाचनमा जनचासो अझै बढेको देखिन्थ्यो ।

उपनिर्वाचनको लागि चितवनमा २४ जनाले उम्मेदवारी दिएका छन् भने तनहुँमा ९ जनाले उम्मेदवारी दिएका छन् । चितवन २ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दिएका हुन् । तनहुँ १ र बारा २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।


त्यस्तै बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको रौनक पनि उत्तिकै बढेको छ । सो क्षेत्रमा सबैभन्दा धेरै उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार  सोमबार अपराह्न ५ बजेसम्मको लागि उम्मेदवारी दिने समय तोकेकोमा  सो समयभित्र बारा २ मा  ३६ जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन चाहनेहरूका लागि सोमबार अपरान्ह ५ बजेसम्मका लागि मनोनयन दर्ता गराउने समय तोकेको थियो । सो अवधिभित्र राजनीतिक दलबाट ३३ जना र स्वतन्त्रबाट ३६ जना गरी जम्मा ६९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आयोगले उपनिर्वाचन प्रयोजनका लागि यही चैत ८ देखि १२ सम्मका दल दर्ताको समय दिएको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशभरबाट  निर्वाचित उम्मेदवारमध्ये ३ जना उमेदवारको स्थान रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । आम निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि सो क्षेत्रमा उप निर्वाचन हुन लागेको हो । त्यस्तै तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा पनि वैशाख १० मा उपनिर्वाचन हुँदैछ । यसैगरी मंसिर ४ को चुनावमा बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव  उपराष्ट्रपतिमा  निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

कति छन् मतदाता ?

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा १ करोड ८० लाखभन्दा बढी मतदाताले भाग लिँदै छन् । निर्वाचन आयोगको स्वीकृत मतदाता नामावली अनुसार वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने १ करोड ८० लाख एक हजार ५६६ जना मतदाता छन् । यी मध्ये  महिला मतदाताको संख्या  ८८ लाख ५२ हजार ४६ छ भने पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ रहेका छन् ।

उपनिर्वाचनमा १२ हजार ९९६ मतदाता वृद्धि भएको  निर्वाचन आयोगले जनाएको छ । गत मंसिर ४ गते सम्पन्न  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए । 

उपनिर्वाचनको लागि तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् भने चितवन निर्वाचन क्षेत्र नं २ मा १ लाख २४ हजार ६९५ मतदाता छन् । त्यस्तै  बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा १ लाख ५ हजार २४८ मतदाता कायम भएका छन् ।  

मतदाता घटबढ

वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने मतदाताको सङ्ख्यामा अघिल्लो चुनावमा भन्दा घटबढ देखिएको छ । ३ वटा निर्वाचन क्षेत्र मध्ये  तनहुँ १ मा मतदाता घटेका छन् भने चितवन २ मा र बारा २ मा बढेका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा मतदान गर्न पाउने मतदाता ३ लाख ५३ हजार २४८ जना रहेको उल्लेख छ । ति मध्ये तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा  १८५ मतदाता घटेर  १ लाख २३ हजार ३०५ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । 

उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४७० थप भई १ लाख २४ हजार ६९५ जना पुगेका छन् । त्यस्तै बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २३७ थप भई १ लाख ५ हजार २४८ पुगेका छन् ।  मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा  बारामा १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६९ थिए । सो निर्वाचन क्षेत्रमा ९२९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपचुनावलाई ध्यानमा राखेर चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ गतेदेखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता गरिएको थियो ।

यस्तो छ तयारी

उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको  निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार  चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने छन् ।

आगामी उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा १ मतदान केन्द्र थप भएको छ भने अरु क्षेत्रका मतदान केन्द्रहरू यथावत रहेका छन् । आयोगका अनुसार चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थल यथावत रहेका छन् ।

अघिल्लो चुनाव नियाल्दा

उपनिर्वाचन हुन लागेका ३ वटै निर्वाचन क्षेत्रको चुनावी माहोल विगतको चुनावमा जस्तै तातेको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचनमा कांग्रेस, जनता समाजवादी पार्टी र रास्वपाले जितेका थिए भने अब हुने उपनिर्वाचनमा पनि तिनै दलहरूबीच टक्कर हुने देखिएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार ३८० मतान्तरले पराजित गरेका थिए  । 

कूल जनसंख्या ३ लाख २० हजार ५६५ रहेको गण्डकी प्रदेशको तनहुँ जिल्लामा १ लाख १९ हजार ६५० जना पुरुष र १ लाख २८ हजार ८४५ जना महिला गरी कूल २ लाख ४८ हजार ४९५ मतदाता रहेका थिए ।

यसैगरी  मधेस प्रदेशको बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचन २०७९ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८२२ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ३५४ मतान्तरले पराजित गरेका थिए । 

कूल जनसंख्या ६ लाख ८९ हजार ९५० रहेको बारा जिल्लामा अघिल्लो चुनावमा कूल ४ लाख ३३ हजार ५०४ मतदाता रहेका थिए । यी मध्ये २ लाख ३६ हजार ८८० जना पुरुष थिए भने १ लाख ९६ हजार ६१२ जना महिला थिए ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने ४९ हजार २६४ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पराजित गरेका थिए ।

वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको कूल जनसंख्या ५ लाख ६७ हजार ९८८ रहेको छ । मंसिर ४ गतेको चुनावमा यस जिल्लामा कूल ४ लाख ८ हजार ३४२ मतदाता रहेका थिए । ति मध्ये  १ लाख ९९ हजार ०३२ जना पुरुष थिए भने  २ लाख ९ हजार ३०९ जना महिला थिए । श्रोत: आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x