गण्डकीमा अब के हुन्छ, के भन्छन् सांसदहरू ?
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशको राजनीति अब कसरी बढ्ला भनेर चासोका साथ हेरिएको छ । मुख्यमन्त्री गुरुङले आइतबार नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका थिए । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले राजीनामा स्विकृत गर्दै ३ दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन् । अब प्रदेश सभाका दलहरु आफ्नो पक्षमा बहुमत पुर्याउन छलफल थाल्नेछन् । प्रदेश सभामा अहिले बहुमत प्राप्त कुनै दल छैनन् । एमालेको २८, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीको २ सांसद छन् । अहिलेकै अवस्थालाई हेर्दा एमालेइतरका दलहरुले सरकार गठनको प्रक्रिया थाल्नेछन् ।
मुख्यमन्त्री गुरुङको सरकार ढाल्न कांग्रेस नेतृत्वको मोर्चाले अविश्वास प्रस्ताव पेस गरेको थियो । राजनीतिक मुद्दामा सहमति जुटाएर कांग्रेस, माओवादी र जनता समाजवादीले अविश्वास प्रस्ताव लगेका थिए । सोही सहमतिलाई निरन्तरता दिएमा बहुमतसहित एमालेबाहेकको सरकार गण्डकीमा बन्ने छ । तर राष्ट्रिय जनमोर्चाले के गर्छ यो चासको विषय छ । जनमोर्चाकी सांसद पियारी थापाले आफूहरु प्रतिगमनकै विरुद्धमा कांग्रेससँग मिलेरै बढ्ने बताउँछिन् ।
‘हामी यो सरकारको विरुद्धमो जो आउँछ त्यसको विरोधमै लाग्ने भनेका हौं,’ उनले भनिन्, ‘अहिले पनि हामी कांग्रेससँगै मिलेर जान्छौं, सरकारमा जाँदैनौं तर साथ रहन्छ ।’ जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्य आफूहरु ३ दिनभित्रै सरकार गठन गर्ने तयारीमा लागिसकेको बताउँछन् । जसपाका एक धारले तटस्थ रहन भनेपनि आफूहरुको नेतृत्वले ओलीविरुद्धमा लाग्न भनेकाले नयाँ सरकारमै जाने उनले बताए ।
‘एक धारले तटस्थ बस भनेको हो, हाम्रो नेताले होइन, हामी नयाँ सरकार नै बनाएर जान्छौं,’ आचार्यले भने । माओवादी केन्द्रकी सांसद आशा कोइराला मुख्यमन्त्री गुरुङको पराजित मानसिकताले गर्दा राजीनामा दिएको बताउँछिन् । अविश्वास प्रस्तावमा सोमबार मतदान हुने कार्यसूची रहेपनि मुख्यमन्त्री गुरुङले डराएर आज नै राजीनामा दिएको बताइन् । ‘भोलि उहाँले डटेर सामना गर्न सक्नुहुन्थ्यो, तर आज डराएर राजीनामा दिनुभयो, राजनीतिक संस्कार गलत सिकाउनुभयो,’ उनले भनिन् । राजमो सांसद पियारी थापा लुम्बिनी घटना दोहोर्याउन मुख्यमन्त्रीले राजीनामा दिएको आशंका गर्छिन् । लुम्बिनीमा पनि मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव निश्क्रिय पार्न राजीनामा दिएर ठूलो दलको नेताका हैसियतले सरकार गठन गरेका थिए ।
‘उहाँहरुको चरित्र त देखेका छौं, लुम्बिनीमा झैं घटना दोहोर्याउन दिएको पो हो कि ?’ उनी भन्छिन्, ‘त्यसो होइन, सहज निकास दिन राजीनामा दिनुभएको हो भने सम्मानजनक छ ।’ एमाले सांसद धनञ्जय दवाडी अब कम्युनिस्टहरु एक ठाउँ हुनुपर्ने बताउँछन् । कांग्रेस र माओवादीको गठबन्धनलाई अप्राकृतिक भन्दै सो गठबन्धन तोडेर माओवादी एमालेतिरै आउनुपर्ने उनको सुझाव छ । ‘कम्युनिस्टहरु एक ठाउँ हुनुपर्छ, अप्राकृतिक गठबन्धन छाड्न साथीहरुलाई आग्रह गर्छु’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया