राजनीति

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना नेतृत्वको आठ सदस्यीय टोली रुस प्रस्थान

इकागज |
बैशाख ६, २०८० बुधबार १३:९ बजे

काठमाडौँ- राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधि मण्डल बुधबार रुस प्रस्थान गरेको छ ।

रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको टोली औपचारिक भ्रमणका क्रममा बुधबार बिहान रुस प्रस्थान गरेको हो ।


अध्यक्ष तिमिल्सिना नेतृत्वको संसदीय टोलीमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन् । भ्रमण टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि रुसी राजदुत अलेक्सेइ नोभिकोभ र संघीय संसद्‌का महासचिव डा. भरतराज गौतमले बिदाई गरेका थिए । 

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी उपल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन् । यस बाहेक रुसी सरकारका पदाधिकारीहरु, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीहरूसँग पनि भेटघाट र संवाद गर्नेछन् ।  

अध्यक्ष तिमिल्सनाले रुसमा बसोबास गर्ने नेपाली डायस्पोरासँग भेटघाट गर्ने कार्यक्रम छ भने मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनका विद्यार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

रुस प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणले नेपाल र रुसबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने तथा भ्रमण फलदायी हुने बिश्वास ब्यक्त गरे ।

अध्यक्ष तिमिल्सिना सहितको प्रतिनिधि टोली रुसको भ्रमण पूरा गरि वैशाख  १२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x