Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

सिंहदरबार प्रवेश नगर्ने कर्मचारी ट्रेड युनियनको चेतावनी

इकागज |
बैशाख ६, २०८० बुधबार १९:३८ बजे

फाइल तस्बिर

काठमाडौं- निजामती कर्मचारीको ट्रेड युनियनहरूले आफूले उठाएको माग समेटेर संघीय निजामती सेवा विधेयकको सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

निजामती कर्मचारीका विभिन्न ५ वटा ट्रेड युनियनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी १८ वैशाखभित्र ट्रेड युनियनले साझा मागको रूपमा उठाएको विषय समेटेर संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न र आफूहरूसँग वार्ता गर्न माग गरेका छन् ।


सरकारले माग पूरा नगरे आन्दोलन गर्ने भन्दै १९ वैशाखदेखिको विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै प्रवेश बहिष्कार गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १९, २० र २१ वैशाखमा गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

१९ वैशाखमा मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन र अर्थ मन्त्रालयका सचिवलाई आफूहरूको माग समेटेर संघीय निजामती सेवा ऐन जारी गर्न देशभरका कर्मचारीबाट एसएमएसमार्फत ध्यानाकर्षण गराउने उनीहरूका आन्दोलन कार्यक्रम रहेका छन् ।

त्यस्तै २० वैशाखमा प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री र अर्थमन्त्रीलाई एसएमएस गर्ने र २१ वैशाखमा सिंहदरबार प्रवेश नगर्न आह्वान गर्ने ट्रेड युनियनहरूको घोषणा छ ।


Author

थप समाचार
x