Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

राजनीति

तनहुँ–१ मतगणना : मतदाताले पुराना पार्टीलाई भन्दा नयाँलाई पत्याए

इकागज |
बैशाख ११, २०८० सोमबार १४:३७ बजे

पोखरा । तनहुँ–१ मा उपनिर्वाचनको मत गणना कार्य जारी छ । यस निर्वाचन क्षेत्रमा रहेका ४२ वडा मध्ये हालसम्म २० वडाको मतगणना सकिएको छ । अहिलेसम्मको मत परिणाम अनुुसार पुरानो भनिएको नेपाली कांग्रेस, नेकपा एमालेभन्दा नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले बढि मत दिएका छन् । 

यहाँ २७ हजार ४४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उनले १३ हजार ७४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले ८ हजार ३६ मतसहित उनलाई पछ्याईरहेका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९५ मत प्राप्त गरेका छन् । 


आइतबार सम्पन्न उपनिर्वाचनमा यहाँ ५२ प्रतिशत मत खसेको थियो । तनहुँ १ मा एक लाख २३ हजार ३०५ मतदाता थिए । जसमा महिला ६३ हजार ७६५ र पुरुष ५९ हजार ५४० मतदाता थिए । यि मतदाता मध्ये ३४ हजार ६७ महिला र २९ हजार ६९० पुरुष गरी ६३ हजार ७५७ मतदाताले मतदान प्रक्रिया सहभागी थिए । तनहुँ १ मा २ नगरपालिका र ३ गाउँपालिकाका ४२ वडा छन् । 

ती मध्ये व्यास र भानु दुबै नगरपालिकामा कांग्रेसले जितेको थियो । भने, देवघाटमा कांग्रेस, आँबुखैरेनीमा माओवादी र बन्दीपुर गाउँपालिकामा एमालेले अध्यक्ष जितेको थियो । यी पालिकाको ४२ वडा २६ वटा वडामा नेपाली कांग्रेस, ९ वटा वडामा नेकपा एमाले, ५ वटा वडामा माओवादी केन्द्र र २ वटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । 

तर, पुराना भनिएका माओवादी, कांग्रेस र एमालेले जितेको गाउँपालिका र वडामा रास्वपाले भारी मतले अग्रता बनाएको छ । पछिल्लो मतपरिणाम हेर्दा रास्वपाका स्वर्णिम निकै अघि छन् । उनको पछि नेपाली कांग्रेसका भट्टराइ, नेकपा एमालेका खनालसहित राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार छन् । 

गत मंसिर ४ भएको आमनिर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गरिएको हो । त्यो समयमा गठबन्धनबाट टिकट पाएका पौडेलले २५ हजार ३६१ मत प्राप्त गरी निर्वाचित भएका थिए । अहिले पनि सोही गठबन्धन कायम भएकाले कांग्रेसका गोविन्द भट्टराईले सहजै जित्ने धेरैले आंकलन गरेका थिए । तर, मध्यक्रमसम्मको मतपरिणामले नयाँ पार्टीलाई मतदाताले विश्वास गरेको देखिन्छ । 

यहाँ, मंसिरमा पनि रास्वपाले उम्मेदवार उठाएको थियो । त्यो समय रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । रामचन्द्रका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएका थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८४, मंगोल नेशनल अर्गनाइजेशनले ३६०, राष्ट्रिय जनमुक्ति पार्टीले ३०१, हाम्रो नेपाल पार्टीले २८४, जनता समाजवादी पार्टीले २६० मत प्राप्त गरेका थिए । 
 

मंसिरको निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३, रास्वपाले १२ हजार ७७३, माओवादी केन्द्रले ७ हजार ३२६, राप्रपाले ३ हजार ५७७, नेकपा –एकीकृत समाजवादी)ले ९५०, मंगोल नेशनल अर्गनाइजेशनले ४५७, राजपाले ३६१, जसपाले ३२३ मत प्राप्त गरेको थियो । 


Author

थप समाचार
x