राजनीति

अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष मिलेर जाऔँ : अर्थमन्त्री महत

इकागज |
बैशाख १३, २०८० बुधबार १७:२८ बजे

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताएका हुन् ।

अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उनले बताए । मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा पुगिनसकेको पनि अर्थमन्त्री महतको दाबी छ ।


अहिले अर्थतन्त्रमा देखिएका दबाब र अप्ठेरा फुकाउन जरुरी रहेको डा महतको भनाइ छ । अर्थतन्त्रको समस्या अहिलेको वा यसभन्दा अघिको सरकारका कारणले सिर्जना नभएको पनि उनले स्पष्ट पारे । विगतदेखिकै समस्या थुप्रिँदै गएर अहिले विकराल बनेको उनको भनाइ छ ।

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या र शासन प्रणालीको समस्या रहेको उनको भनाइ छ । सरकारको तर्फबाट निर्वाह हुनुपर्ने भूमिकामा पनि कमी कमजोरी रहेको अर्थमन्त्री महतले बताए ।


Author

थप समाचार
x