पर्यटनमन्त्री किरातीकाे आराेप : वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरू स्वयं
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरू नै रहेको आरोप लगाएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरू स्वयं रहेको बताए ।
उनले मन्त्रीहरूले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको उल्लेख गरे । उनले भगवानहरू पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरू आफ्नो विज्ञतामा बस्नुपर्ने बताए । उनले अहिले राज्य सत्ताको सारा अंगहरू मृत्युप्रायः रहेको दाबी गरे ।
उनले भने, ‘वायुसेवा निगम खाने खुम्लेकीरा त मन्त्री नै पो रहेछ । प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ । हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एकदिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ । आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ । मान्छेको चाहीँ जम्मै स्थान, विज्ञता हुँदैन । अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्राय: छ । जति चिमोट्दा पनि ऐया भन्दैन, स्वार्थमा दौडिएका छन् । जनता अब जाग्नुपर्छ । दबाब जनताले दिनुपर्छ ।’
मन्त्री किरातीले देशका कानुन संशोधन गरी अघि बढ्नुपर्ने बताए । उनले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताए । मन्त्री किरातीले नेपालीहरूको रगत-रगतमा भ्रष्टाचार रहेको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया