राजनीति

जनताको आकांक्षा विकास, समृद्धि र सुशासन : अध्यक्ष तिमिल्सिना

इकागज |
बैशाख १६, २०८० शनिबार १८:५९ बजे

फाइल तस्बिर

लुम्बिनी- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकांक्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका सबै निर्वाचन सम्पन्न भएर तीन तहमै नयाँ सरकार आइसकेको अवस्थामा रोजगारीका लागि विदेशिनुपर्ने र जनताले आफ्नो कामका लागि भनसुन गर्न नेताकहाँ धाउनुपर्ने गलत प्रणालीका अन्त्य जनताको मुख्य चाहना रहेको बताए ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपालको तेस्रो केन्द्रीय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार, जनताको मतको दुरुपयोग र सिद्धान्त बेचेर कुर्सीका लागि हानथाप गर्नेजस्ता कुराको अन्त्य हुनुपर्ने बताए । 'हाम्रा अग्रजहरू देशका लागि बलिदानी दिएर मर्न तयार भए,  अब मर्न होइन, देशका लागि केही गर्न तयार हुनुपर्यो,' उनले भने, 'आफ्ना लागि होइन, देशका लागि गर्न तयार हुनुपर्‍यो, तपाईँहरू जस्ता कलाकारले सङ्गीतका माध्यमबाट सचेत गराउनुपर्‍यो ।'


उनले भाषा, कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै यति धेरै भाषाभाषी र कला, संस्कृति कहीँ पनि नभएको र यो हाम्रो पहिचान भएको बताए । यस्ता कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै अगाडि बढाउने कुरामा ध्यान दिनु जरुरी रहेको उनले उल्लेख गरे ।
 
अध्यक्ष तिमिल्सिनाले आधुनिकतासँगै यस्तो मौलिक कला, संस्कृति हराउँदै जाने हुन् कि भन्ने चिन्ता लिनु जरुरी रहेको र यसको संरक्षण र प्रवर्द्धनमा राज्यका तीनवटै तहका सरकारको ध्यान दिनुपर्नेमा जोड दिए ।
 
अध्यक्ष तिमिल्सिनाले कलाकारितालाई रोजगारीसँग जोड्न आवश्यक रहेको औँल्याए । अध्यक्ष तिमिल्सनाले कला, संस्कृति हाम्रा पहिचान, पुँजीका रूपमा रहेको बताए । उनले यस्ता सम्पत्तिलाई अन्य भाषामा समेत अनुवाद गरेर विश्वव्यापी प्रचार गर्नुपर्ने बताए ।


Author

थप समाचार
x