राजनीति

मंगलबार दिनभर

बुढानीलकण्ठमा नयाँ सत्ता बनाउन के-के भयो ?

मधुसुधन भट्टराई |
बैशाख २८, २०७८ मंगलबार १९:१९ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्‍वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर बहुमतको सरकार बनाउन भनेकी छन् । त्यसपछि विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई समूहले बुहमत पुर्‍याउने कसरत गरिरहेका छन् । 

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतीय सरकार बनाउन बिहीबार साँझ ९ बजेसम्मको समय दिएकी छन् । बिहानदेखि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका र अन्य दलका नेताहरूसँग भौतिकरूपमा र टेलिफोनमा छलफल गरिरहे । समाचार तयार पार्दासम्म पनि देउवा निवासमा कांग्रेस नेताहरू छलफलमै थिए । 


देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पटक–पटक कुराकानी गरे । भेटेर र टेलिफोनमा पटक–पटक कुराकानी भएको देउवाको सचिवालयले जानकारी दियो । 

बिहान आफू पक्षका नेताहरू र अन्य शीर्ष नेताहरूसँग छलफल गरेका देउवाले दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठक आफ्नै निवास बुढानिलकण्ठमा राखे । बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्न आवश्यक समर्थन जुटाउने निर्णय गर्‍यो ।

कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतकाले बैठकले माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहलाई पनि साथमा लिएर सरकार बनाउने विषयमा आवश्यक तयारी गर्ने निर्णय गरेको जानकारी दिए । 

सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिंदा तटस्थ बसेको जसपाको महन्थ ठाकुर समूहसँग पनि नियमित रूपमा पटक-पटक छलफल भइरहेको महतले बताए । ‘उहाँ (महन्थ ठाकुरसँग) सँग चरण-चरणमा छलफल भइरहेको छ । संविधानको धारा ७६(२) अनुसार सरकार बनाउन राष्ट्रपतिले तोकेका म्याद अझै कायमै छ । उहाँसँग पनि अब अर्का चरणमा छलफल फेरि हुन्छ,’ महतले भने । 

पदाधिकारी बैठक बस्‍नुअघि बिहान ११ बजेतिर जसपा अध्यक्ष उपेन्द्र यादव सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगे । नेता राजेन्द्र श्रेष्ठसहित पुगेका यादवसँग सत्ता समीकरण र जसपाकै अर्को समूह महन्थ ठाकुरलाई कसरी मनाउने भन्‍ने विषयमा कुराकानी भएको बुढानिलकण्ठ स्रोतले जानकारी दियो ।
 
ठट्यौली पारामा यादवले देउवालाई ‘पहिला तपाईंकै पार्टीका मान्छे हुनुहुन्छ । अहिले पनि तपाईंसँग राम्रै छ । भेटेर हुन्छ या टेलिफोनबाट मनाउने कुरा गर्नुस् । हामी त तपाईंहरूकै पक्षमा छौं’ भनेपछि देउवाले मुन्टो हल्लाए । र आइतबार बिहान ठाकुर र नेता राजेन्द्र महतोसँगको कुराकानीबारे भने – ‘मैले कुराकानी गरेको छुँ । उहाँ नकारात्मक हुनुहुन्न । तर, सकारात्मक भने भइसक्नु भएको छैन । कसरी मनाउने हो, तपाईंहरू पनि प्रयास गर्नुस्, म पनि गरिरहेको छुँ,’ देउवाको भनाइ उद्धृत गर्दै निकटस्थ एक नेताले भने । ति नेताका अनुसार त्यसदिन देउवाले ठाकुरलाई आफ्नो ‘आइडोलोजी’ र भविष्यबारे पनि गहिरोगरी सोच्न सुझाएका थिए । त्यसपछि ठाकुर केही नभनी मुन्टो हल्लाउँदै बाहिरिएका थिए । 

यादवसँग देउवाले जसपाको संसदीय दलको नेता आधिकारिक तय भएको हो कि होइन भनेर सोधेका थिए । यादवले पार्टी अध्यक्ष भएको दलको नेता नभएको बताए । ‘उहाँ एक्लैले गरेर केही हुँदैन । उहाँ अध्यक्ष हो तर संसदीय दलको नेता होइन । हाम्रो संसदीय दलको नेता चयन भएपछि आधिकारीक निर्णय राष्ट्रपतिकोमा जानेछ,’ देउवासँगको छलफलपछि इकागजसँग यादवले भने ।

यादवसँग कुराकानी हुँदाहुँदै माओवादी अध्यक्ष दाहाल बुढानिलकण्ठ पुगे । देउवा, दाहाल र यादवबीच पनि केहीबेर छलफल भएपछि यादव बाहिरिए । त्यसपछि देउवा र दाहालबीच पनि कसरी बहुमतीय सरकार बनाउने भन्ने विषयमा कुराकानी भयो । उनीहरूबीच जसपाको ठाकुर समूह र एमालेको नेता माधवकुमार नेपाल समूहलाई कसरी फकाउने भन्‍ने विषयमा छलफल भएको ति नेताले बताए । 

तर एमाले वरिष्ठ नेता नेपाल समूहका नेता तथा एमाले उपमहासचिव घनश्याम भुसालले सांसदबाट राजीनामा वा अन्य कुनै कार्य गर्नुभन्दा कांग्रेस, माओवादी र जसपा मिलेर जानु नै उत्तम भएको बताए । जसपामा पनि महन्थ ठाकुरतर्फ उनीहरूको ध्यान केन्द्रित हुन आवश्यक रहेको पनि भुसालले इकाजसँग बताए ।

माओवादीले पनि जसपालाई कसरी मनाउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताएको छ । आफूहरु छलफलमा रहेको र अन्तिमसम्म परिणाम निस्कने माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठको धारणा छ । उनले मंगलबार तीन दलका नेताहरू एकै स्थानमा बसेर छलफल भने भइनसकेको बताए ।
 
२७५ सदस्यीय प्रतिनिधि सभामा माओवादीका ४ जनाको स्थान रिक्त भएको छ । कांग्रेसका २ र जसपाका २ सांसद निलम्बित छन् । अहिले प्रतिनिधि सभा २६७ सदस्यीय भएको छ । त्यसमा बहुमत पुर्‍याउन १३४ सांसद आवश्यक पर्छ । 

विपक्षी गठबन्धनसँग कांग्रेसका ६१, माओवादीका ४८ (सभामुख बाहेक) र जसपाको उपेन्द्र यादव समूहका १७ जना छन् । यो जोड्दा ११६ सांसद संख्या हुन्छ । अब सरकार गठनका लागि बहुमत पुर्‍याउन १८ सांसद आवश्यक पर्छ । 
 
सभापति देउवाले एमाले नेता नेपालसँग पनि टेलिफोन संवाद गरिरहेका छन् । उनीहरूले ‘हुन्छ/हुन्‍न’ भन्‍ने एकिन जवाफ नदिएको नेताहरू बताउँछन् । तर, कांग्रेसका नेताहरूले नेपाल समूहका नेताहरूलाई पनि मनाउने प्रयास जारी राखेका छन् । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x