राजनीति

चुनाव हारे पनि रमेश खरेलले देखेको जितको ठूलो सम्भावना

विष्णु विवेक |
बैशाख १७, २०८० आइतबार १६:१६ बजे

काठमाडौँ– ‘तपाईंले जित्नै नसक्ने चुनाव फेरि किन लड्नु भएको हो, दाइ ?’

बारा–२ मा चुनाव हारेर भर्खरै काठमाडौँ फर्किएका रमेश खरेललाई अनामनगरमा भेट्नेबित्तिकै हामीले सोधेको प्रश्न थियो, यो । 
हाम्रो प्रश्न खस्न नपाउँदै उनले पनि तात्तातै जवाफ फर्काइहाले । 


‘म जित्छु भनेर चुनाव लड्न गएकै थिइँन् । रवि लामिछानेपछि स्वर्णिम वाग्लेजीहरू पनि मिसिएपछि राजनीतिको नयाँ लहरमा होमिएको मात्रै हुँ । आखिर भयो पनि त्यही ।’

उनले जवाफ फर्काइरहँदा हारको पश्चाताप देखिएन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ र तनहुँ–१ मा जितेको चुनाव पनि पर्याप्त लाग्दैन्थ्यो । जुन सुरुवात मात्रै हो ।
उपचुनावको रापताप सकिँदा यसपटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केही नयाँ रेकर्ड राख्यो, केही तोड्यो पनि ।

जसमा चितवन–२ मा रवि लामिछानेले अहिलेसम्मकै धेरै ५४ हजार बढी मत ल्याएर जित हासिल गरे । जुन सामान्य थिएन । गएको चुनावभन्दा झण्डै १० हजार बढी मत ल्याएका रविले पुराना ठूला पार्टी कांग्रेस, एमाले र माओवादीलाई चितवनमा सोत्तर पारिदिएका छन् ।

अनि रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ–१ मा पनि रविकै स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले बाजी मारे । जुन आफैँमा नयाँ रेकर्ड हो । कांग्रेस र एमालेको गढमा कांग्रेस छाडेर नयाँ पार्टीमा प्रवेश गरेको महिना दिन नबित्दै स्वर्णिमले प्रतिनिधिसभा सांसद बन्ने सुनौलो अवसर प्राप्त गरे ।

जुन एक अर्थशास्त्रीका लागि एउटा स्वर्णिम सपना हो । अनि राजनीतिक दलका नेताहरूको पछि लागेर भन्दा आफैँले नेतृत्व लिएर देश बनाउँछु भन्नेहरूका लागि एक ऐतिहासिक चुनौतीको सामना गरेर प्राप्त गरेको जिम्मेवारी पनि ।

नेपालका धुरन्धार अर्थशास्त्री चुनाव जितेर प्रतिनिधिसभामा प्रवेश गर्दै गर्दा यतिबेला कांग्रेस, एमाले र माओवादीका बुढा र युवा नेता नराम्ररी तर्सेका छन् ।

त्यसमाथि स्वर्णिमलाई रोक्न र चुनावमा हराउन कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा नै चुनावी कमाण्डर बनेर खटेका थिए ।

तर उनीहरूको आफ्नै गल्ती यतिबेला सच्चिनु त धेरै परको कुरा, स्वर्णिमलाई रोक्छु भन्दा उनीहरूको चम्किलो राजनीतिक करियर र क्रेज नै रवि–स्वर्णिमको धुमिल छायाँमा परेको छ ।

बारामा चुनाव हारे पनि पूर्व परिचित प्रहरी अधिकारी (रिटायर्ड डिआइजी)समेत रहेका खरेल नयाँ आशा र सम्भावनाका रुपमा यही निष्कर्ष सुनाउँछन् ।

‘देशको प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, प्रमुख दलका प्रमुख चार नेता गएरै चक्लेट बाँडेजस्तै गरी मन्त्री पद बाँड्दा पनि हामी एक्लो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई हराउन नसक्नु सामान्य होइन’ एसपीको कुर्सीमा रहँदा काठमाडौँ लगायत अड्डा हल्लाएका खरेल भन्छन्, ‘चितवन र तनहुँमा त जितको सुरुवात मात्रै हो । अब देशका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले जित्छन् ।’

उनी डिआइजीमा रिटायर्ड भए पनि एसपी रमेश खरेलको नामले पपरिचित छन् । त्यसैले पनि उनले मत माग्दै गर्दा भन्ने गरेका थिए, ‘म एसपी रमेश खरेल’
उनी बारामा एसपी भएर बस्दा निकै सुधारका कामहरू गरेर चर्चामआएक्ै कारण उनले आफूलाई एसपी भनेर मतदातालाई चिनाउने गर्दथे ।
अब सबै उम्मेद्वारले जित्ने दाबी गरिरहेका एसपी खरेल नामले मतदातामाझ परिचित उनी आफैँले किन हारे त ? 

हामीले यो प्रश्न पनि सोध्यौँ । अनामनगरस्थित एक कार्यालयको दोस्रो तलामा गफिँदै गर्दा हामी गजेन्द्र बोहरा, विनेश खनाल र म थियौँ । वैशाख १६ गते दिउँसो २ बजेतिर ।

घाम लागेकै बेला हामी गफ गर्दै थियौँ । चुनाव र राजनीतिक गफ चल्दै गर्दा बाहिर पानी पार्ने बादल मडारिएको थियो ।
हाम्रो प्रश्नपछि खरेलले बाराको सामाजिक र राजनीतिक प्रवृत्तिगत परिदृश्य खोले । जसमा उनले सुरुमै भने, ‘मैले ऋण काढेर चुनाव लड्न पुग नपुग एक लाख रुपैयाँ लिएर गएको थिएँ । तर हाम्रै पार्टीका साथीहरू दिनमा तीन लाख खर्च गर्नुपर्छ भन्न थाले ।’

हाम्रै पार्टी भन्नाले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी । जुन पार्टीबाट उम्मेद्वार बनेर नेपालको राजनीतिमा मधेसका मसीहा भन्न रुचाउने उपेन्द्र यादवसित चुनाव लड्न रमेश खरेल बारा–२ क्षेत्रमा पुगेका थिए ।

तर उनले सोचेको जस्तो मधेस थिएन । रवि लामिछानेको क्रेजले पनि काम गरेन । खरेल भन्छन्, ‘मधेसको यस्तो समस्या छ, जहाँ तपाईको राजनीतिक सिद्धान्तले काम गर्दैन । आशा र सपना बाँड्दा पनि हुँदैन । सुशासन त झन् कुन चरीको नाम हो, थाहा नै छैन । मात्रै पैसा र ठगी गरेर मात्रै चुनाव जित्न सकिन्छ ।’

रास्वपाले चितवन र तनहुँमा रेकर्ड जित दर्ता गर्दा बारा–२ मा मुस्किलले २८ सय मत कटायो । जबकि रमेश खरेलका प्रतिष्पर्धी उपेन्द्र यादव २८ हजार बढी मत ल्याएर प्रतिनिधिसभामा फर्किए ।

चुनावअघि र चुनावपछि आकाश पातालको फरक आँकडा देखिएपछि खरेल थप अगाडि भन्छन्, ‘नेताहरूले देश यसरी बिगारेका छन्, जुन बनाउनुपर्ने सोच थियो, त्यो सोच नै मधेसका नागरिकले बिर्सिसकेका छन् । त्यहाँ केवल गुण्डागर्दी चल्छ । ठगी चल्छ । कमिसन चल्छ । अनि पैसाको चलखेल चल्छ ।’

चुनावी दौरानका क्रममा पार्टीकै साथीहरूबाट सही रुपमा सहयोग नपाएको गुनासो उनको छ । आफ्नो स्वच्छ छवि देशैभर रहेपनि बारामा त्यसलाई प्रचार गर्नै नसकिएको उनको दाबी छ ।

चुनावी दौरानमा साथ दिन पुगेका साथीहरू पैसाले प्रलोभनमा पर्दा सोचेजस्तो जित हासिल हुन नसकेको उनको भनाइ छ । कतिपय ठाउँमा आफ्नै सहयोगी साथीहरूले विपक्षी उम्मेद्वारको सूचना आदानप्रदान गर्न केवल कर्मकाण्डी चुनावी सभा गरेको पनि खरेलको दाबी छ ।

‘मेरो जुन योजना थियो । जुन कार्यक्रम थियो । त्यो राम्ररी गर्नै पाइएन’ उनी भन्छन्, ‘मुख्य कारण उनीहरूले भनेको माग मैले पूरा गर्न सकिन । अनि आफ्नो स्वार्थ पूरा नहुने भएपछि केही साथीहरू विपक्षीलाई हाम्रो सूचना दिएर मतदाता प्रभावित पार्ने खेलमा लागे ।’

त्यसो भने मधेसमा मधेसकेन्द्रित दलका नेताहरूबाहेक अरुले चुनाव जित्न सक्दैनन् त ?

‘सक्छन्, तर पैसा बाँड्नुपर्छ । रवि लामिछाने र स्वर्णिमजीहरूले त्यत्ति ठूलो सभा गरेर भाषण गर्दा र राजनीतिको नयाँ आशा दिलाउँदा पनि पत्याएनन् । कारण पैसा हो । उनीहरूले वर्षेनि धम्क्याएर मतदाता किन्छन् । मधेसमा भोट किनबेच रोक्न सकिदैन’ उनले सारमा निष्कर्ष सुनाएँ ।

हाम्रो यो तेस्रो जिज्ञासा थियो । उनले त्यसलाई अन्तिम जवाफका रुपमा फर्काए । 

त्यसपछि हामीले सोध्यौँ, ‘मधेसका नागरिकका खास माग के रहेछन् ? उनीहरू के चाहन्छन् ?’

खासै ठूलो कुरा केही पनि छैन । उनले अगाडि भने, ‘सिम्पल । बाली लगाउने बेला मल खोजिरहेका हुन्छन् । तर सरकारले त्यो उपलब्ध गराउन सक्दैन । मलको ठेक्का लिने मेरै साथी हो । पञ्चायतकालदेखि नै उसले लिगेसी बोकिरहेको छ । उसले भन्छ, पहिले नेताहरू १० प्रतिशत कमिसन माग्थे । अहिले ३० प्रतिशत माग्छन् । कमिसन नदिएपछि मल ल्याउनै दिँदैनन्, त्यसका लागि आवश्यक प्रक्रिया नै गर्न दिँदैनन् ।’

उनले बाराको अर्को समस्या उप्काए, गरिबीको रेखामुनि रहेका गरिब, दलित र पिछडावर्ग ।

जसलाई आज बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ता छ । अनि आज पेटभरी खान पाए, भोलि कसरी पेट भरी खान सकिन्छ ? भन्ने मात्रै चिन्ता छ । राजनीति, सामाजिक, आर्थिक समस्या, समाधान भन्ने केही पनि चासो छैन ।

खरेलका शब्दमा तिनै गरिबीको रेखामुनि रहेका सोझा सर्वसाधारणलाई धम्क्याउँदै, थर्काउँदै, सस्तो प्रलोभन देखाउँदै र चुनावको बेला केही पैसा दिएर मधेसकेन्द्रित दलले राजनीतिको रोटी सेकाउँदै आएका छन् । 

‘एकपटक केही स्थानीय दलित महिलाहरूले आफ्नो टोलमा सुटुक्क बोलाए । कसैले थाहा पाए उनीहरूलाई फेरि धम्क्याउने र थर्काउने रहेछन्,’ उनले भने, ‘म बेलुकीपख एक जना साथीको बाइकमा त्यहाँ पुगे । बोलाएर उनीहरूले हामी तपाईंलाई भोट दिन्छौँ भने । मलाई राम्रो उम्मेद्वार हो भन्ने थाहा पाएका रहेछन् । तर उनीहरूको एउटै आग्रह हामीसँग भोट माग्न आएको र हामीले भोट दिएको कुरा अरुलाई नभनिदिनूहोला । त्यो कुरा सुनेर म अहिले पनि भावुक हुन्छु । तपाई आफैँ सोच्नुस, हाम्रो सार्वभौमसत्ता देशका नागरिकको हालत कस्तो छ ?’

उनले हामीतिरै तेस्र्याएको प्रश्नको जवाफ हामीसँग पनि थिएन । फेरि उनैतिर हामीले अर्को प्रश्न गर्यौ, ‘अबको योजना र २०८४ सालको चुनावको मिसन के छ ?’
‘मेरो र म अहिले रहेको पार्टीको एउटै उद्देश्य देश बनाउने हो । देश बनाउन धेरै केही गर्नुपर्दैन । अहिलेको परिपार्टी थोरै बदलेर, काम गर्ने शैली बदलेर, नेतृत्वले हिम्मत गरेर, जनतासँग गरेको बाचा पूरा गरे पुग्छ’ उनले सारमा सुनाए, ‘धेरै राम्रो गर्न नसकिएपनि नराम्रो नगरे पुग्छ, भ्रष्टाचार नगरे पुग्छ, कमिसन नखाए पुग्छ । कसैलाई हानी नगरी जनतालाई केन्द्रमा राखेर काम र भलाईको काम गरे पुग्छ ।’

उनले हामीलाई यति सुनाएर टेबलमा रहेको साइकलको हेल्मेट लगाउने सुरसार गरे । त्यसअगाडि एउटा फोन उठाए, ‘म ठीक समयमै साढे २ बजे माइतीघर आउदैछु । रविजी पनि आउँदै हुनुहुन्छ, तपाई पनि आउनुहोला । देश बनाउन महावीर पुन सरलाई साथ मात्रै दिएपनि धेरैथोक हुन्छ ।’

यति भनेर उनी बसेको सोफाबाट उठे । प्रहरी जीवनदेखि अहिले राजनीतिक जीवनसम्मको यात्रा र अनुभवबारेको प्रकाशोन्मुख पुस्तकबारे गफिन उनी अनामनगर आइपुगेका थिए ।

त्यही मेसोमा हामीले पनि गफ गर्यौ । उनी हेल्मेट लगाएर साइकल चलाउँदै माइतीघर हिँडे । जहाँ यो देशमै आविष्कार गरेर, उत्पादन गरेर निर्यात गरेपछि मात्रै देश बनाउन सकिन्छ भनेर माइतीघरमा धर्ना बसिरहेका महावीर पुन आन्दोलनमा छन् । 

देशमै उत्पादन भएका वस्तुको दर्ता र त्यसको प्रवद्र्धन गरिनुपर्छ भनेर महावीर पुनहरूले आन्दोलन गर्नुपर्छ भने हामीजस्ता तन्नेरीहरू विमानस्थलमा लामो लाइन लागेर पासपोर्ट बोकेर खाडी र युरोप जानु नौलो रहेन ।

फरक यति मात्रै हो, यो कुरा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली मात्रै होइन, गगन थापा, रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेलहरू बुझेर राजनीतिक एजेन्डा बनाउँदै राजनीति गरिरहेका छन् ।

बाँकी त बेला बेला बुढापाकाले भनेजस्तै देश पशुपतिनाथकै भरोसामा चलिरहेकै छ ।
 


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x