राजनीति

कुमार लिङ्देनलाई कारबाहीपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नागरिक उन्मुक्तिबीच पार्टी एकता

बाबुराम भण्डारी |
बैशाख १८, २०८० सोमबार १८:३२ बजे

विराटनगर- संघीय लिम्बुवान राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन आफैँ पार्टीबाट निकालिएका छन् । मञ्चको यही वैशाख १२ गते बसेको केन्द्रीय समितिको बैठकले लिङ्देनलाई पार्टी अध्यक्षबाट हटाएर उपाध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्वमा पार्टी पुनर्गठन भएको छ । गुरुङको नेतृत्वको पार्टी आधिकारिक भएको भन्दै निर्णय र आवश्यक कागजातसहितको जानकारी निर्वाचन आयोगलाई पठाएको पत्रमा उल्लेख छ ।

लिङ्देनलाई अध्यक्षबाट हटाएपछि उक्त पार्टीको विधानको परिच्छेद ११ को धारा ५५ (२) बमोजिम अध्यक्ष चयन गरिएका गुरुङले सोमबार नै विराटनगरबाट नागरिक उन्मुक्ति पार्टीसँग पार्टी एकता गरेका छन् । उन्मुक्तिकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र गुरुङबीच पार्टी एकताको घोषणा भएको हो ।


गुरुङले नागरिक उन्मुक्तिसँग पार्टी एकता गरेपछि संघीय लिम्बुवान राष्ट्रिय मञ्च औपचारिक रूपमै फुटेको हो । उपाध्यक्ष रहेका गुरुङ अध्यक्षमा चुनिएका हुन् । कोशी प्रदेश नामकरणविरुद्ध उग्र प्रदर्शनको नेतृत्व गरिरहेका लिङ्देन भने एक्लिएका हुन् ।

मञ्चका तत्कालीन अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाउँदै आएका गुरुङसहित महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपाध्यक्षहरू इन्दिरा मेन्याङ्बो, एबी तुम्वाङ र दिलकुमार लावती तथा प्रान्तीय महासचिव शेसोहाङ चोङ्वाङ लगायतका पूर्व जिल्ला अध्यक्षहरू पनि नागरिक उन्मुक्तिसँगको एकता प्रक्रियामा जोडिएका छन् ।

धरानमा सम्पन्न भएको मञ्चको तेस्रो महाधिवेशनयता नै आन्तरिक विवाद उत्कर्षमा पुगेको जनाइएको छ । महासचिव अशोक चेम्जोङसहितले लिङ्देनलाई पार्टीमा आर्थिक हिनामिना लगायतका कार्यको नेतृत्व गरेको दाबी गर्दै आएका थिए । अहिले कोशी प्रदेश नामकरणको विरुद्धमा प्रदर्शनमा सहभागी भइरहेको मञ्चले आन्दोलनकै बीचमा नागरिक उन्मुक्तिसँग एकता गरेपछि लिङ्देन एक्लिएका हुन् ।

उन्मुक्तिसँगको एकताका क्रममा गुरुङ नेतृत्वको मञ्चले कोशी नामकरण विरुद्धको आन्दोलनमा हुने भावी उपस्थितिबारे भने स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । यसअघिका महासचिव अशोक चेम्जोङ भने लिङ्देनले नेतृत्व गरेको पहिचान पक्षधरको आन्दोलनमा खुलेर सहभागी भएका छैनन् ।

उन्मुक्तिसँगको पार्टी एकताका क्रममा बोल्दै गुरुङले यो एकतालाई पार्टी विभाजनको रुपमा भन्दा पनि पहिचान पक्षधरको वृहत् शक्ति निर्माणका लागि भएको अर्थ्याएका छन् । यो भनाइले गुरुङ नेतृत्वको मञ्चले पार्टी एकीकरणपछिका आन्दोलनका कार्यक्रममा देखाउने सहभागिता लिङ्देन नेतृत्वको भन्दा रचनात्मक र फरक हुने संकेत गरेको हो । गुरुङले पार्टी एकीकरणपछि पहिचान पक्षधरहरू झन एकताबद्ध भएको पनि दाबी गरेका छन् ।

उन्मुक्तिसँग एकीकरण गरेका अध्यक्ष गुरुङले वैशाख १२ गतेको बैठकबाट पार्टीको विधानको धारा ९७ (३) बमोजिम लिङ्देनलाई पदमुक्त गरेको निर्वाचन आयोगलाई लेखेको पत्रमा उल्लेख छ । बैठकको निर्णयको आधिकारिकता र विवरण अद्यावधिकका लागि लेखिएको उक्त पत्रमा लिङ्देनलाई पदमुक्त गरिएको कागजात र प्रमाणहरू समेत संलग्न गरिएको जनाइएको छ ।

पार्टीभित्र चर्किएको विवादले आफू अप्ठेरोमा पर्ने अवस्था बन्दै गएका कारण लिङ्देनले मञ्च सम्बद्ध करिब एक दर्जन नेता कार्यकर्ताहरूलाई चार महिना अघि नै कारबाही गरेका थिए । उनको कारबाहीले विवाद झन उग्र बनेको परिणाम अन्ततः लिङ्देन आफैँ पार्टी अध्यक्षबाटै निकालिए ।

सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ सहभागी पार्टी एकता घोषणा कार्यक्रममा दिनेशचन्द्र राजवंशी नेतृत्वको कोचिला संयुक्त संघर्ष समिति, दामोदर पाण्डेले नेतृत्व गरिरहेको नागरिक सशक्तीकरण लागि जागरण अभियान पनि एकतामा जोडिएका छन् ।

यो एकतासँगै पूर्वका सांगठानिक हैसियत नरहेको उन्मुक्तिले आफूलाई नयाँ राजनीतिक शक्तिका रूपमा उभ्याउन सक्ने सम्भावना बढाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x