Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

कोशी प्रदेशको पुनःनामकरण सम्भव छैन : मुख्यमन्त्री कार्की

इकागज |
बैशाख १८, २०८० सोमबार २०:४७ बजे

उर्लाबारी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामकरण असम्भव रहेको बताएका छन् ।

आज मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारण सभामा उनले भने, 'नेपाल बहुजातिय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासदले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामाकरण गरिएको हो । अब पुनः प्रदेशको नामकरण सम्भव छैन ।'


विगतको पाँच वर्ष प्रदेशको नामकरण हुन नसक्दा जनस्तरबाटै प्रदेश सरकार आलोचित भएको स्मरण गर्दै कार्कीले थपे, 'प्रदेश सरकार निर्माण गर्न समर्थन गरेका सबै राजनैतिक दलको समर्थनमा नामाकरण टुङ्गोमा पुर्याइएको हो । पछिल्लो समय केही व्यक्ति र केही संस्थाले एमालेलाई लक्षित गरी आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको छ । हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट छैन यसप्रति कोशी प्रदेश सरकार सचेत छ ।'

मन्त्री कार्कीले ‘कोशी प्रदेश’ निश्चित सम्प्रदाय, धर्म, पहिचान र जातिभाषाका रूपमा नभएर नेपालकै सबैभन्दा ठूलो प्राकृतिक सम्पदा कोशी नदीको नाम भएको स्पष्ट पारे । उनले भने, 'यो प्रदेशको नाम सम्पदाका आधारमा राखिएको हो, अन्य ठाउँमा प्राकृतिक सम्पदा र भूगोलको आधारमा नामकरण हुँदा हुने हाम्रोमा किन नहुने ?'

मन्त्री कार्की कार्यक्रममा सहभागी हुने खबर आन्दोलनरत पहिचानवादीले उनीविरुद्ध नाराबाजी गरेका थिए । आन्दोलनरत पक्षधरले कार्कीको विरोध गर्दै पूर्वपश्चिम राजमार्गको मङ्गलबारेमा केही बेर सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले सडकमा प्रदर्शन गर्न थालेपछि मुख्यमन्त्री कार्की अर्को बाटो भएर विराटनगर फर्किएका थिए ।


Author

थप समाचार
x