राजनीति

मौद्रिक नीति चाँडै खुकुलो हुने अपेक्षा छ : अर्थमन्त्री महत

इकागज |
बैशाख २६, २०८० मंगलबार १५:४ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् ।​ मंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो अपेक्षा राखेको बताएका हुन् ।

अर्थमन्त्री महतले बैंकको ब्याजदर घटेसँगै व्यापारका लागि ऋण लिनेहरूको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने जिकिर गरे । उनले सरकारको तर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताए । उनले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको औंल्याए ।


मन्त्री महतले आगामी वर्षको बजेट सीमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पारे । उनले आगामी वर्षको बजेट एउटा वर्ग समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिबद्धता जनाए ।

यस्तै उनले आगामी वर्षको बजेटका लागि श्रोत जुटाउने चुनौती सरकारलाई रहेको पनि बताए ।


Author

थप समाचार
x