राजनीति

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति

इकागज |
बैशाख २९, २०८० शुक्रबार १७:२८ बजे

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् । 

स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले स्व पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए । 


उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पुर्याएको योगदानको चर्चा गरे । 

पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीतालगायतमा समेत नेता पाठकको महत्वपूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।

स्व. पाठकको राजनीतिक योगदान प्रशंसायोग्य रहेको बताउँदै उनले बालसुलभ चेतना भएको नेता र कुशल अभिवक्ता भएको स्मरण गरे ।

सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्व नेता पाठकले कानुन, नेपाली साहित्य र राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गरे । 

पुस्तकमा स्व पाठकद्वारा लेखिएका र प्रकाशित भएका ६३ वटा लेख, उनीसँग विभिन्न समयमा लिइएको अन्तर्वार्ता समावेश गरिएको छ भने ४३ वटा स्व. पाठकका बारेमा विभिन्न व्यक्तिहरूले लेखेका छन् ।


Author

थप समाचार
x