राजनीति

कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि कर्णालीमा नवनियुक्त मन्त्रीको शपथ रोकियो

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १२:१० बजे

काठमाडौँ : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएको नेपाली कांग्रेसले दुई वटा मन्त्रालयको माग फेरि उठाएपछि कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीको शपथ रोकिएको छ । बुधबार मात्रै मुख्यमन्त्री शाहीले सीता नेपाली, बिन्दमान बिष्ट र गोपाल शर्मालाई मन्त्री नियुक्त गरेका थिए ।

नेपालीलाई जलस्रोत मन्त्रालय, बिष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र शर्मालाई आर्थिक तथा योजना विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अब कर्णालीमा सामाजिक विकास मन्त्रालय मात्रै बाँकी छ ।


सामाजिक विकास मन्त्रालय कांग्रेसलाई दिने गरी मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । तर कांग्रेसले सामाजिक विकास मन्त्रालयसँगै अर्थ मन्त्रालय पनि आफूलाई दिनुपर्ने माग फेरि उठाएपछि हिजो नियुक्त गरिएका मन्त्रीको शपथ रोकेर वार्ता सुरु गरिएको कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

'कांग्रेसले अर्थ मन्त्रालय र सामाजिक विकास मन्त्रालय नै चाहियो भनेर फेरि माग उठाएको छ', नाम नखुलाउने शर्तमा मुख्यमन्त्री निकट एक नेताले इकागजसँग भने, 'कांग्रेसलाई मनाउन वार्ता सुरु भएको छ । वार्ता मिलेपछि मन्त्रालय फुटाएर भएपनि कांग्रेसलाई सरकारमा ल्याएर सँगै शपथ गराउने तयारी छ ।'

नवनियुक्त मन्त्रीको शपथ बिहीबार ११ बजेलाई तय गरिएको थियो । तर अब कांग्रेसलाई मनाएपछि मात्रै नवनियुक्त मन्त्रीको शपथ हुनेछ । कर्णाली प्रदेशकी माओवादी केन्द्रकी सचेतक सीता नेपालीले पनि नवनियुक्त मन्त्रीको शपथ रोकिएको जानकारी दिइन् । उनका अनुसार कांग्रेसलाई सरकारमा ल्याउन वार्ता सुरु गरिएकाले शपथ रोकिएको हो । कांग्रेसले दुई वटा मन्त्रालय माग गरेको सुनिएकाले सोही मागलाई सम्बोधन गर्न मुख्यमन्त्रीले वार्ता सुरु गरेको उनले बताइन् ।

मुख्यमन्त्री शाहीले जनार्दन शर्माको दबाबमा उनका भाई गोपाल शर्मालाई अर्थमन्त्री नियुक्त गरिसकेका छन् । अर्थ मन्त्रालय कांग्रेसले माग गरेको मन्त्रालय हो । अब कांग्रेसलाई दिन बाँकी सामाजिक विकास मन्त्रालय मात्रै बाँकी छ । 

सामाजिक विकास मन्त्रालय फुटाएर कांग्रेसलाई सरकारमा ल्याउने वा नियुक्त भइसकेका मन्त्रीलाई मनाएर कांग्रेसका सांसदलाई अर्थमन्त्री बनाउने भन्ने विषयमा मुख्यमन्त्री र कांग्रेस नेताहरुबीच छलफल भइरहेको छ ।

तर नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाहीले भने आफूले दुई वटा मन्त्रालय माग गरेको कुरा सत्य नभएको बताए । इकागजसँगको कुराकानीमा उनले कांग्रेस तत्काल सरकारमा जान नचाहेको, बाहिरै बसेर सरकारलाई सहयोग गर्ने भएकाले दुई वटा मन्त्रालय माग गरेको कुरामा सत्यता नभएको दाबी गरे ।

'दुई वटा मन्त्रालय माग गरेको कुरा गलत हो' उनी भन्छन्, 'हामी बाहिरै बसेर भएपनि सरकारलाई सहयोग गर्छौ भनिरहेका छौँ । मुख्यमन्त्रीले सरकारमा आउनुस भनिरहनु भएको छ । कुरा यही हो ।'


Author

थप समाचार
x