प्रधानमन्त्रीले जेठ ४ गते प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर गर्ने
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।
बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ ४ गतेको बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए । उनले संसद् भित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ । त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदैछ । त्यो हुँदा संसद् भित्र रहेका दलहरूको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्ने गरी समझदारी बनेको छ ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । उनले सकेसम्म भोलि (सोमबार) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे । उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि भएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए । उनले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरूले प्रश्न सोध्न पाउने पनि स्पष्ट पारे । उनले संसदीय समितिहरूको बैठक भोलि (सोमबार) नै बस्न सक्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया