राजनीति

'सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक छिट्टै टुंगो लाग्छ'

इकागज |
जेठ २, २०८० मंगलबार १३:४० बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।

मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण(मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् । उनले यि दुवै विधेयकहरुको महत्वलाई बुझ्दै छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडि बढाउनुपर्ने बताए ।


मन्त्री गुरुङले समितिले दिने निर्देशनलाई नेपाल सरकारले अंगीकार गर्ने जिकिर गरे । त्यसैगरी बैठकमा बोल्दै नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू, अदालतको फैसला र पीडितको कुरालाई मध्यनजर गर्दै अगाडि बढाउनुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि सत्ता पक्ष र प्रतिपक्ष भन्नु नहुने उल्लेख गरे । उनले पीडित र पीडक दुवै पक्षलाई मान्य हुने गरी कानुन निर्माण गर्नुपर्ने भनाइ राखे । उनले उपसमिति बनाएर भएपनि यि दुई विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले विधेयकहरुलाई दफावार छलफलमा लानुपर्ने बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सर्वप्रथम समितिले बैठकको कार्यविधि तयार गर्नुपर्ने बताइन् । 


Author

थप समाचार
x