राजनीति

समिति पहिलो बैठक : तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश

इकागज |
जेठ २, २०८० मंगलबार १३:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको आयात न्यूनीकरण गर्ने तथा आयातित तरकारीमा विषादीको मात्र परीक्षणलाई प्रभावकारी तुल्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

समिति सदस्यहरूले दिएको रायसुझाव र परामर्शका आधारमा समितिले मुलुकले आर्थिक सङ्कट झेल्नु परिरहेको अवस्थामा तरकारीमा आत्मनिर्भर हुने कार्यक्रम घोषणा गर्न तथा आयातित तरकारीमा देखिएको अत्यधिक विषादीको प्रयोग रोक्न परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो । 


तरकारीमा विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परेकाले सीमा नाकामै भरपर्दाे परीक्षण गर्ने व्यवस्था मिलाउन समितिले सरकारलाई सुझाव दिने निर्णय गरेको छ । बैठकमा सदस्यले कृषिप्रधान मुलुक भनिए पनि समयमै किसानले सिँचाइ, मल, खाद्य र बिउ नपाएर प्रताडित भएको घटना सुनाउँदै किसानलाई राहत हुने कार्यक्रम सुनिश्चित गर्न सरकारले प्रादेशिक रूपमा प्रभावकारी कार्ययोजना घोषणा गर्न माग गरे ।

सरकारले कृषि क्षेत्रको उत्पादन बढाएर आयात घटाउने तथा निर्यात बढाउने नीति अघि सारे पनि परिणाम प्राप्त गर्ने उद्देश्य र योजना नभएकै कारण लक्ष्य हासिल गर्न कठिनाइ भएको सदस्यहरूको भनाइ थियो ।

मध्य र पश्चिमका पहाडी जिल्लामा पछिल्लो समय बढ्दै गएको बाँदर आतङ्क रोक्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्न बैठकमा सुझाव प्रस्तुत गरियो । बैठकमा भाग लिने अधिकांश सांसदले  कृषि क्षेत्रको विकासका सम्भावना, समस्या र परिणाम प्राप्त गर्ने उपायका बारेमा सुझाव प्रस्तुत गरे । 
 
ज्येष्ठ सदस्य नवलकिशोर साह सुडीको अध्यक्षतामा बसेको पहिलो बैठकमा सदस्यलाई स्वागत गरिनुका साथै सदस्यबीच परिचय र समितिको कार्याक्षेत्रबारे जानकारी गराइयो । 

समितिको कार्यक्षेत्रभित्र वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास, भूमि, सहकारी तथा गरिवी निवारण रहेको छ । समितिमा  ती मन्त्रालयका मन्त्री पदेन सदस्य रहने भए पनि आजको पहिलो बैठकमा कुनै पनि मन्त्री उपस्थित भएनन् ।


Author

थप समाचार
x