कुनै व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर हुँदैन : अर्थमन्त्री महत
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै व्यापारिक घराना वा निश्चित वर्गलाई फाइदा हुने गरी करको दर हेरफेर नहुने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दायरा हेरफेर लगायतका नीतिगत भ्रष्टाचार नहुने र नदिने स्पष्ट पारेका हुन् । समग्र अर्थतन्त्रलाई मध्यनजर राखेर आगामी आर्थिक वर्षको बजेट आउने उनले बताए ।
अर्थमन्त्री महतले मुलकभित्र उत्पादनलाई बढाउने, उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने लगायतका कुरालाई बजेटमार्फत प्राथमिकतामा राखिएको जानकारी दिए । उनले अहिले आर्थिक वर्षको नौ महिनापछि बजेट उपलब्ध गराउन माग गर्ने र ठेक्का लगाउने प्रवृतिलाई आफूले रोकेको जानकारी दिँदै बजेटपछि लगत्तै कार्यान्वयनका लागि कार्यतालिका बनाउने बताए ।
बजेटमार्फत पुँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन गर्नेमा ध्यान केन्द्रित हुने उनको भनाइ छ । अर्थमन्त्री महतले अहिले राजस्व कम उठेको क्षेत्रलाई सुधार गर्ने प्रयास भइरहेको भए पनि आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्ने अवस्थामा रहेको जिकिर गरे । त्यस्तै उनले वैदेशिक ऋणले नेपालको अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन भन्ने विषयमा समीक्षा हुन जरुरी रहेकाले समीक्षा मार्फत खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता रहेको बताए ।
बैठकमा समिति सदस्यहरूले बजेट कार्यान्वयनको चुनौतीलाई ध्यान दिन सुझाव दिएका थिए । एमाले सांसद सुर्य थापाले उपभोग्य वस्तुको परनिर्भरतालाई कम गर्न मुलुकमा उत्पादन बढाउने र आयात कम गर्ने योजनाको अभाव रहेको भन्दै यसमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिए ।
त्यस्तै रास्वपा सांसद डा स्वर्णिम वाग्लेले विगत १० वर्षदेखिको बजेट हेर्दा कार्यान्वयनको खाँचो रहेको रहेको भन्दै यसमा ध्यान दिन सुझाव दिए । उनले बजेटको प्राथमिकतालाई पनि ध्यान दिएर विनियोजन गर्नुपर्ने बताए ।
त्यस्तै समिति सदस्यहरू विराजभक्त श्रेष्ठ, भवानी खापुङ, ज्ञानेन्द्र शाहीलगायतले बजेटलाई कर्मकाण्डी मात्रै नबनाएर मुलुकको आर्थिक समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सुझाव दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया