यसकारण गरिँदै छ वीरेन्द्रनगरमा पूर्व राजाको नागरिक अभिनन्दन
सुर्खेत- पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार सुर्खेत आउने भएका छन् । पूर्व राजा शाहको यही जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको र उक्त कार्यक्रमका लागि पूर्व राजा सुर्खेत आउने कार्यक्रम रहेको राप्रपा नेपाल सुर्खेतले जनाएको छ ।
नागरिक अभिनन्दन समारोहमा पूर्व राजा, रानी र राजपरिवारका केही सदस्यहरू पनि सुर्खेत आउने कार्यक्रम रहेको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ । राप्रपाका नेता एवं नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले सुर्खेतको विकासमा स्वर्गीय राजा वीरेन्द्रको महत्वपूर्ण योगदान रहेकाले नागरिक अभिनन्दनको आयोजना गरिएको जानकारी दिए ।
सुर्खेतको वीरेन्द्रनगरको स्वरूपको खाका स्वर्गीय राजा वीरेन्द्रले बनाएको र राजाको योगदानको कदर गर्दै नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गर्न लागिएको राप्रपा नेता गिरीले बताए ।
‘सुर्खेतको अहिलेको जुन अवस्था छ । यो अवस्था निर्माण गर्नका लागि स्वर्गीय राजा वीरेन्द्रले २०२९ सालमा सुर्खेतमा पहिलो पटक सवारी भएर वीरेन्द्रनगरको एउटा खाका बनाउनुभएको थियो,’ गिरीले भने, ‘खाका निर्माण गर्ने क्रममा राजाका तीनै जना दाजुभाइहरूको योगदान देखेका थियौँ । र, यही महत्वपूर्ण योगदानका कारणले पनि सुर्खेतमा राजाको नागरिक अभिनन्दन गर्न लागिएको हो ।’
यस्तै २०६२ सालमा राजा ज्ञानेन्द्र सुर्खेत आउँदा वीरेन्द्रनगरका तत्कालीन मेयर समेत रहेका गिरीले मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालयहरू नेपालगन्जबाट सुर्खेत सार्न, सुर्खेतको कालागाउँमा क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल)को निर्माण कार्य सुरु गर्न र तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको हिमाली जिल्लाका जडिबुटीहरू सुर्खेत ल्याएर भण्डारण र प्रशोधन गर्ने केन्द्र बनाउन गरेको अनुरोध पूरा गरेको पनि गिरीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया