राजनीति

पद बहाली गरेको एक वर्ष

सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह

इकागज |
जेठ ११, २०८० बिहीबार २१:१० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।  

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पद बहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई पत्रमार्फत अनुरोध गरेका छन् । 


आगामी १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गरेका हुन् । 'विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न गर्नसमेत उनले पत्रमार्फत आग्रह गरेका छन् । सरसफाइ गरिने स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउने छन् । सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ । 

गत वर्ष २०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । वैशाख ३१ गते शनिबारदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिकाको मतगणना जेठ १३ गते शुक्रबार सकिएको थियो । शुक्रबार राति ११ बजे मत परिणाम घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् जेठ १४ गते शनिबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा बधाई कार्यक्रम आयोजना गरेको थियो । 

जेठ १६ गते सोमबार कामपाका जनप्रतिनिधिहरूले बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । सोही दिन अपराह्न ४ बजे कार्यपालिकाको पहिलो बैठकसमेत बसेको थियो । रासस


Author

थप समाचार
x