राजनीति

सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार संकटमा, एमाले र जसपा सत्ता साझेदार !

नवराज पनेरु |
बैशाख ३१, २०७८ शुक्रबार २०:५१ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको छ । केन्द्रमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सहमतीले त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार संकटमा परेको हो । नेकपा एमालेमा माधव पक्षका सासंदको साथले चलिरहेको सरकार माधव पनि ओलीतिर ढल्केपछि धरापमा छ ।

केन्द्रमा दुई नेताबीच सहमती भएसंगै नेकपा एमालेले सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थत फिर्ता लिने तयारी गरेको छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमालेका मात्रै २५ सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसद छन् । नेकपा एमालेलाई आफ्नो नेतृत्वमा सरकार बनाउन दुई जना सासंदको आवश्यकता हुन्छ । नेकपा एमालेले जसपासंग मिलेर सरकार बनाउने सम्भावना बलियो रहेको बताउँछन् एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री झपट बोहरा । ‘प्रदेशमा सबैभन्दा ठूलो पार्टी एमाले नै छ,’ उनले भने, ‘वरिष्ठ नेताहरुको सल्लाहअनुसार अव सुदूरपश्चिममा पनि एमालेकै नेतृत्वमा सरकार बन्छ । सत्ता साझेदार जनता समाजवादी पार्टीलाई बनाउने सम्भावना बढी छ ।’ 


माओवादीलाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन वा अहिलेकै सरकार टिकाउन भने अन्य पार्टीका १४ जना सासंदको समर्थन आवश्यक छ । नेपाली काँग्रेस र जसपा दुवै पार्टीसंग मिले मात्रै त्यो सम्भव छ । यसअघि माओवादी केन्द्रका १४ सासंद थिए । तर आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पदबाट राजीनामा दिदै एमालेमा प्रवेश गरेपछि उनको सासंद पद पनि गुमेको छ ।

यस्तै नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन अन्य पार्टीका थप १५ जना सासंदको समर्थन जुटाउन पर्ने देखिन्छ । माओवादी केन्द्र र जसपाले समर्थन गरे मात्रै त्यो सम्भव छ । नयाँ सरकारको समिकरणमा सबैभन्दा सहज एमालेलाई नै छ । एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन जसपाको समर्थन जुटाए मात्रै पुग्ने भएकाले सोही गृहकार्य भइरहेको हो ।  

नेकपा एमाले सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङले भने अहिले नै नयाँ समिकरणबारे टुङगो लाग्न नसकेको बताए । ‘कोरोना महामारीमा पनि प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको यथार्त नै हो । त्यसैले पनि नयाँ सरकारबारे छलफल भएको होला । एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउँदा कुन पार्टीलाई साझेदार बनाउँछ भन्ने विषयमा अहिले नै टुङगो लागेको छैन्,’ तामाङले भने । केन्द्रमा दुई नेताबीचको सहमतीले प्रदेशमा पनि एमालेकै नेतृत्वमा सरकार बनाउन बाटो खोलेको ठहर उनको पनि छ । 

माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेभित्र माधव पक्षका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् । माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री र विनिता चौधरी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । एमालेभित्र ओली पक्षका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पुसमा  बर्खास्त गरेका थिए भने माओवादी केन्द्रका झपट बोहराले पुसमै आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका थिए । दुई जना मन्त्री पद खाली भएको चार महिना भइसकेको छ । 


Author

थप समाचार
x