संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ
काठमाडौँ- शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताएकी छन् । बिहीबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले यसअघि पनि सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने बताएकी हुन् ।
उनले आउँदो हिउँदे अधिवेशन नयाँ संसदबाट नै सुरु गर्ने सरकारको योजना रहेको जिकिर गरिन् । उनले निर्माणको काम सुस्त रहेको भन्दै कामलाई तीव्रता दिन निर्देशन दिइन् । उनले म्याद थप समस्याको समाधान नभएको उल्लेख गर्दै जनशक्ति बढाएर काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री गुरुङले भनिन्, ‘हामी हिउँदे अधिवेशन यहीबाट नै सुरुवात गर्नुपर्छ भन्ने पक्षमा छौँ । निरन्तर फलो गरिरहेको छु । निर्माणको काम सुस्त छ, यसलाई अघि बढाउन निर्देशन दिएपछि प्रगति भएको छ । जनशक्ति थोरै छ, बढाउनुपर्छ, नीतिगत निर्णय गर्न र भुक्तानी दिन हामी तयार छौँ । म्याद थप्ने होइन समयमा नै काम सक्नुपर्छ । म्याद थप समस्याको समाधान होइन । जनशक्ति बढी लगाइयो भने काम सकिन्छ । जनशक्ति थप्नुभएको छैन, अब थप्नुपर्छ । काम तोकेको समयमा सम्पन्न गर्नुपर्छ । समय थपिसकेको छ, समय थप गर्न अब हामी सक्दैनौँ ।’
मन्त्री गुरुङले तोकेको समयभित्रै काम सम्पन्न हुनुपर्ने र कुनै व्यवधान भए हटाउन मन्त्रालय नीतिगत निर्णय गर्न र समयमा नै भुक्तानी गर्न सक्षम रहेको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया