रवीन्द्र मिश्रका पाँच प्रश्न : संघीयता केका लागि ?
फाइल तस्बिर
काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले महाव्याधी र सरकारका क्रियाकलाप जोड्दै संघीयताका सन्दर्भमा पाँच वटा प्रश्न उठाएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, ‘संघीयता केका लागि हो ? स्थानीय सरकार केका लागि हो ? हजारौँ स्थानीय जनप्रतिनिधिको व्यापार, व्यवसाय र कमीसन बढाउन ? सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउन ?’
‘संकेत शुभ छैनन्, समयमै चेतना भया !’ चेतावनीसहित मिश्रले लेखेका छन्, ‘संघीयता चाहिएको स्थानीय सुशासन, विकास र सशक्तीकरणका लागि हो । देश महाव्याधीको महासंकटमा छ । तर यो संकटका बेला हरेक नागरिकले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना, नाना, पैसा सबै आफैँ जोहो गर्नुपरेको छ ।’
उनले ‘शीर्ष भनिने नेताहरू सरकार जोगाउने र ढलाउने कोठे संवादमा व्यस्त रहेको’ उल्लेख गर्दै भनेका छन्, ‘बाहिर जनता मरिरहेका छन् । मानवता नै नभएकाहरुमा सहानुभूतपको भाव हुने त कुरै भएन । तर ‘भोलि फेरि जनअनुमोदित हुने त हामी नै हौँ’ भन्नेमा उनीहरू ढुक्क छन् ।’ उनको दाबी छ, ‘यिनले जनताको, एउटा पुस्ताको मात्र होइन, सिंगो देशको र देशको भविष्यको नै हुर्मत लिइरहेका छन् ।’
उनले लेखेका छन्, ‘होली-वाइनले नुहाउँदा, सबै सफा नै रहे । ओम्नी, यति, बालुवाटार, लाउडा, धमिजा, सांसद किनबेच जस्ता काण्डले थिच्दा सबै मुस्कुराउँदै तंग्रिए । संविधान कुल्चिँदा, संविधानमाथि उनीहरू नै शानका साथ उभिए । ताली बजाइदिनेहरूको कमी नभएपछि कु-पथमा हिँडिरहेकाहरूलाई शपथका शब्द अटेर गर्दा के नै फरक पर्थ्यो र ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया