राजनीति

प्रदेशले केन्द्र सरकारसँग समन्वय नगरेको एमालेको आरोप

इकागज |
जेठ १, २०७८ शनिबार १९:१५ बजे

कर्णाली  : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कोभिड-१९ को महामारी नियन्त्रण प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्न नसकेको आरोप लगाएको छ । प्रदेश सरकार मातहतको प्रदेश अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामीको भर्ना लिन नसक्ने जनाएपछि प्रदेशसभाको प्रमुख विपक्षी दल एमालेले तत्काल उपलब्ध स्रोत-साधनको परिचालन गर्दै केन्द्र सरकारसँग थप सहयोगका लागि समन्वय गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

दलका नेता यामलाल कँडेलले विज्ञप्ती जारी गर्दै तत्कालीन र भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्ने, आइसीयू भेन्टिलेटरसहितको बेड, चिकित्सक, स्वास्थ्यकर्मी र औषधिको उचित व्यवस्थापनमा लाग्‍नुको साटो प्रदेश सरकारले आफूसँग भएको स्रोतको परिचालनसमेत गर्न नसकेको आरोप लगाएका छन् ।


उनले कोभिड-१९ को महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक सामगी अभावले आम नागरिकले बेहोर्नु परेको कष्टकर दैनिकी र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाउन र विषम परिस्थितिमा सहयोगी भावना बढाउन अनुरोध समेत गरेका छन् । 

यसैबीच, प्रदेश अस्पतालले कोभिड-१९ का बिरामीको भर्ना लिन नसक्ने सूचना जारी गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पनि प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष गोरखबहादुर बोगटीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “कोरोना महामारीविरुद्ध सबै शक्ति परिचालन गर्नुपर्ने बेलामा व्यक्ति विशेषको स्वार्थका लागि प्रदेश सरकार मन्त्रालयहरू छुट्ट्याएर मन्त्रीहरू थप्दै जाने, स्वास्थ्यसम्बन्धी विषयगत मन्त्रालय नेतृत्वबिहिन बनाइनु आपत्तिजनक छ । प्रदेश सरकारले स्थानीय र संघ सरकारसँग तत्काल समन्वय गरी महामारीबाट जनतालाई जोगाउन ध्यान दिओस् ।” (रासस)
 


Author

थप समाचार
x