राजनीति

दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने सरकारकाे तयारी

इकागज |
जेठ २१, २०८० आइतबार १८:५५ बजे

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव एक नारायण अर्यालले अहिले संस्थागत रूपमा १ सय ११ देशमा वैदेशिक रोजगारमा जाने गरेको र अन्य देशमा व्यक्तिगत हिसाबमा रोजगारीका लागि जाने गरेको भन्दै दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने योजनामा रहेको बताए । विश्वबजारमा यसअघिका कुराहरू परिवर्तन भएको अवस्थामा नेपाल पनि परिवर्तित समय अनुसार चल्नुपर्ने उनले बताए ।


सचिव अर्यालले आजको इराकलाई पनि हेर्दै मागका आधारमा कामदार पठाउन सक्ने गरी गृह कार्य भइरहेको जानकारी दिए । उनले माल्टा, क्रोयसिया लगायतका देशबाट हजारौंको संख्यामा दिनहुँ आउदा पनि नेपालको पहुँच नहुँदा अर्को मुलुकबाट मात्रै कामदार जाने अवस्था आएकाले दूतावास भएको ठाउँमा दूतावासबाट प्रमाणीकरण र दूतावास नभएका स्थानका लागि वैदेशिक रोजगार विभागको टिमबाट नै प्रमाणीकरण गर्ने व्यवस्था गर्न लागेको बताए ।

औपचारिक माध्यमबाट वैदेशिक रोजगारबाट जान नसक्नेहरूले भिजिट भिसा, कन्सल्टेन्सी लगायतको माध्यम प्रयोग गर्ने र यसका कारण ठगी र भविष्यमा हुनसक्ने जोखिम धेरै हुने भएकाले पनि औपचारिक रूपमा कामदार पठाउने गरी नै तयारी भइरहेको अर्यालले बताए ।

पत्रकार सम्मेलनमा श्रम मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूमाथि ठगी गर्ने क्रम नरोकिएकाले यस क्षेत्रलाई प्रभावकारी बनाउन टाक्स फोर्स नै गठन गरिएको जानकारी दिए । वैदेशिक रोजगारीमा पठाउने अन्य राष्ट्रको अध्ययन गरेर नेपालले पनि उचित नीति बनाउने उनको भनाइ छ ।

मन्त्री भण्डारी​ले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको दाबी गरे । उनले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने पनि बताए ।


Author

थप समाचार
x