राजनीति

भारतले नयाँ संसदमा राखेको नक्साबारे कूटनीतिक नोट पठाउनुपर्छ : पेशागत महासंघ

इकागज |
जेठ २८, २०८० आइतबार १६:४९ बजे

काठमाडौँ- पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ ।

भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा नेपालको भूमि समेटिएको नक्सा राखेको प्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो । साथै महासंघले विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धि सम्झौता नेपालको हित अनुरूप लागू गर्न सरकारसँग माग गरेको छ ।


आइतबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा बोल्दै पेशागत महासंघ नेपालका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताए । उनले विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्नका साथै बुहदलीय व्यवस्थाको पुनःस्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्र भित्रका अकुत सम्पत्ति कमाउने व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेको बताए ।

महासंघको लोगो, नाम, झण्डा, छाप लगायतका सामानहरूको दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ । उनले आम श्रमिकका माग सम्बोधनका लागि उच्चस्तरीय श्रम आयोग गठन गर्न पनि माग गरे । कर्मचारीहरूले पाइरहेको कुनै पनि सेवा सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । उनले संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐनहरू चाँडोभन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताए ।

महासंघले उच्चस्तरीय तलब सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलब सुविधा लागू गर्न सरकारसँग माग गरेको छ । सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरूको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा विस्तार गर्न पनि ध्यानाकर्षण गराएको छ । 


 


Author

थप समाचार
x