राजनीति

राष्ट्रियसभा उपनिर्वाचनमा ७२ घन्टाको पीसीआर रिपोर्ट अनिवार्य

इकागज |
जेठ २, २०७८ आइतबार १७:२६ बजे

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न गर्न स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना गर्ने व्यवस्था गरेको हो । 

मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नु अघि ७२ घण्टा अवधिभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने उल्लेख छ । साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्नेछ । कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै मतदानकेन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ । 

मतदानकेन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरु सबैले अनिवार्य रुपमा पीपीइको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा २ मीटरको दूरी कायम गर्नुपर्ने उल्लेख छ ।

सबैले अनिवार्य रुपमा फेससिल्ड, पञ्जा र मास्क लगाउनु पर्नेछ । मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरी सकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरु र मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणना स्थलमा मतपेटिका खोल्नु अघि  अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधानहरु उक्त स्वास्थ्य सुरक्षा मापदण्डमा छन् ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पालना गर्नुपर्ने मापदण्ड पालना गरी गराई यस निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न गराउन आवश्यक सहयोगको लागि निर्वाचन आयोगले सबै पक्षसँग अनुरोध गरेको छ । 



Author

थप समाचार
x