राजनीति

बागमतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया अगाडि बढ्याे

इकागज |
जेठ २, २०७८ आइतबार १९:३२ बजे

बागमती : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले आज प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई 'भर्चुअल' निर्देशन दिँदै तत्कालका लागि अस्पताललाई आवश्यक परेका समस्याको समाधान गर्न सरकारले गर्नुपर्ने काममा सरकार तयार रहेको बताएका हुन् ।


उनले रकम अभावका कारण कुनै पनि काम नरोकिने बताउँदै प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणका लागि सङ्घीय सरकारले पूर्ण अधिकार दिएकाले कोभिड-१९ नियन्त्रणका लागि आवश्यक रकम खर्च गर्न नहिच्किचाउन निर्देशन दिए । महामारी नियन्त्रणमा पैसा वा अन्य आवश्यकता बाधक हुन नहुने उनकाे भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले अक्सिजनको उपलब्धताका लागि सरकार लागि परेको जानकारी दिँदै प्रदेशमा आवश्यकताअनुसारको आइसोलेशन, कोभिड अस्पताल र जनशक्तिलगायतको अभाव हुन नदिइने पनि बताए । रासस


Author

थप समाचार
x