राजनीति

अविलम्ब समिति सभापति चयन गर्न सांसदहरूको माग

इकागज |
जेठ ३२, २०८० बिहीबार १८:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- सांसदहरूले अविलम्ब समिति सभापति चयन गर्न माग गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूमा हालसम्म सभापतिको चयन हुन सकेको छैन । हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेका छन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरूले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरूमा अफ्ठ्याराे परेको भन्दै छिटोभन्दा छिटो समिति सभापतिको चयन गर्न माग गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसदले तीव्र गतिले काम गर्न नसकेको बताए । उनले गठबन्धनका नेताहरूले भागबण्डा गर्न ढिलाइ गर्नु नहुने र समिति सभापति चयन हुनुपर्नेमा जोड दिए ।


त्यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिको काममा प्रभाव परेको बताए । उनले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको बताए । उनले बजेट पास भएपछि समिति सभापति चयन हुने बताए ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए । उनले सत्तापक्षकाे कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भीर बन्न आग्रह गरे ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गरे । अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नु नहुने उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले समितिको कामलाई प्रभावकारी बनाउन समिति सभापति चाँडै चाहिएको बताए । जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारिता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताए ।

यद्यपि हालसम्म समितिको काम नरोकिएको उनको भनाइ छ । उनले समिति सभापति चाँडै चयन हुनेमा विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x