राजनीति

गृहमन्त्रीलाई सांसद झाको कटाक्ष– उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ

इकागज |
असार ४, २०८० सोमबार १२:५१ बजे

काठमाडौँ– राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नागरिकहरू बाढी–पहिरोले आतंकित भएका बेला गृहमन्त्री भने मोर्चा बनाउनमै व्यस्त भएको भन्दै कटाक्ष गरेका छन्  

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बाढी–पहिरोबाट हुनसक्ने क्षति न्यूनीकरण र पूर्वतयारीबारे सांसदहरूलाई जानकारी गराउन छोडेर गृहमन्त्री मोर्चा बनाउन व्यस्त भएको बताए । 


‘आज पहाड जोखिममा छ । भोलि तराई र मधेश जोखिममा हुनेछ । गृहमन्त्री र उहाँको तयारीका बारेमा जानकारी पाइरहेका छैनौँ,’ झाले भने, ‘सायद उहाँ मोर्चा बनाउनमै व्यस्त हुनुहुन्छ ।’

झाले विपद् जोखिम व्यवस्थापनबारे सांसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे । उनले भने, ‘हामीले जनप्रतिनिधि हौँ । हामीले पनि जवाफ दिनुपर्छ, तर प्रश्न कसलाई सोध्ने ? जवाफ कहाँबाट अपेक्षा गर्ने ? जवाफ चाहन्छौँ, यसका लागि अनुरोध गर्छौँ ।’

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी गरी तीन सत्तासीन र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा गरी चार पार्टीले आज अपरान्ह समाजवादी मोर्चा घोषणा गर्दैछन् । राष्ट्रिय सभा गृहमा दिउँसो चार बजे औपचारिक रुपमा मोर्चा घोषणा हुने कार्यक्रम छ । 


Author

थप समाचार
x