राजनीति

कानुन मन्त्री गुरुङलाई भट्टराईले भने– उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय खारेज गर्नुस्

इकागज |
असार ६, २०८० बुधबार १७:२२ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी एमालेका सांसद योगेश भट्टराईले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा जारी बैठकमाथिको छलफलमा सहभागी हुँदै उनले कानुन मन्त्री धनराज गुरुङलाई मुद्दा फिर्ता लिएको निर्णय खारेज गर्न आग्रह गरे।

कांग्रेस, एमालेलगायत देशका प्रमुख दलहरूले दण्डहीनतालाई प्रश्रय दिने निर्णय गर्दा देश सही दिशातिर नजाने उनले बताए । चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सम्पूर्ण सञ्चारमाध्यमले विरोध जनाएपछि सरकारले उक्त निर्णय फिर्ता लिन्छ भन्ने आफूले आशा गरे पनि त्यो नभएको उनको भनाइ छ ।


कानुन मन्त्री गुरुङलाई इंगित गर्दै उनले भने, ‘हाम्रा एकजना साथी, जो मभन्दा सिनियर विद्यार्थी नेता पनि हुनुहुन्थ्यो, उहाँलाई धेरै पहिलेदेखि चिन्थेँ । उहाँको भाषण पनि हामी सुनिरहेका छौँ । उहाँ अस्ति भर्खर मन्त्री हुनुभयो, त्यसमा पनि कानुन मन्त्री ।’

उनले अगाडि भने, ‘अब यो देशको कानुन सुधारिन्छ होला, ठीक मान्छे ठीक ठाउँमा आउनुभयो भन्ने लाग्यो, तर म असाध्यै दुखी भएँ । ती अपराधीको मुद्दा फिर्ता लिने कागजमा उहाँले नै सही गर्नुभयो ।’

उनले गुरुङलाई मुद्दा फिर्ता लिन अनुरोध गर्दै भने, ‘कृपया यो निर्णय फिर्ता लिनुस् ।’ 


Author

थप समाचार
x