विद्युत् व्यापारको सम्झौताले १० वर्षभित्रमा नेपालले फड्को मार्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिका कारण नेपाल पछाडि पर्दै गएको बताएका छन् । काठमाडौंँमा आयोजित नेपाल उद्योग परिसंघ सिएनआई नेपालको २० औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गाली गलौज गर्ने प्रवृत्तिका कारण सरकारले गरेका राम्रा कामहरू पनि ओझेलमा पर्दै गएको गुनासो गरे ।
निजी क्षेत्रसँग मैत्रीपूर्ण सहकार्य नगरी मुलुकको समृद्धि नहुने भन्दै उनले समस्याका रूपमा रहेका ऐन कानुनको सुधार गर्न आफू लागिपरेको उल्लेख गरे । यसका लागि अहिले भएका विद्यमान ऐन कानुनको र्याडीकल सुधार आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
आफ्नो भारत भ्रमणका क्रमममा भएको विद्युत् व्यापारको सम्झौताले आगामी १० वर्ष भित्रमा नेपालले फड्को मार्ने दाबी गरे । १० वर्षमा १० हजार मेगावाट बिजुली भारतमा निर्यात गर्ने योजनाले मुलुकको अर्थतन्त्र स्वाभाविक रूपमा सुध्रिने दाहालको भनाइ छ । उनले नेपाल भारतको सम्बन्धलाई आफ्नो भ्रमणले थप उचाइमा पुर्याएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा विवादका विषयमा राखेको प्रस्तावले पनि दुई मुलुकबीचको सम्बन्ध सुध्रिएको संकेतका रूपमा बुझ्न आग्रह गरे । अर्थतन्त्र सुधारका लागि सिएनआईले यसअघिको जस्तै भूमिका खेल्ने प्रधानमन्त्री दाहालको अपेक्षा थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया