राजनीति

सरकारले विमान खरिद प्रक्रियालाई साहसका साथ अघि बढाउनुपर्छ : नारायण खड्का

इकागज |
असार ८, २०८० शुक्रबार २०:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा नारायण खड्काले विमान खरिद गर्ने कामलाई साहसका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

धेरै ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि विमान खरिदको कामलाई सरकारले हिम्मतका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै नेता खड्काले विमान खरिद हुन नदिनका लागि अदालतमा मुद्दा हाल्नेलगायतका लफडा हुने भ एपनि सरकारले पारदर्शी रूपमा सो प्रक्रियालाई अघि बढाउन ढिलाई गर्न नहुने बताए ।


उनले हवाई उडानका लागि आईकाओले लगाएको प्रतिबन्ध फुकुवा गर्ने कामलाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

नेता खड्काले भने, ‘नयाँ जहाज किन्ने कुरामा अनेक खालको लफडा हुन्छ । कसैले अदालतमा मुद्दा हाल्छन् । भ्रष्टाचारको कुरा आउँछ । तथापि हामीहरूले जे भने पनि साहसका साथ, हिम्मतका साथ जहाजहरू पारदर्शी ढंगले खरिद गरेर अनि आईकाओको कन्डिशनलाई हटाउन सकियो भने धेरै ठूलो मार्केट छ पर्यटन क्षेत्रको । जहाजकै समस्या भएपछि हामीले कसरी पर्यटन क्षेत्रको विकास गर्ने ? त्यसकारण यो बारेमा हामीले अत्यन्तै गम्भीरतापूर्वक हुनु पर्दछ ।’

नेता खड्काले नीति तथा कार्यक्रममा परेको सगरमाथा विमानस्थलका लागि बजेट विनियोजन नगरिएकोमा अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति आक्रोश समेत व्यक्त गरे ।


Author

थप समाचार
x