लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : दुवै उमेदवार दल फेरेका
बुटवल : राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको हो ।
दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पाण्डेय र खड्काले उम्मेदवारी दिएका हुन्। चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेय यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए । एमालेका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि राष्ट्रियसभा सदस्य थिए । माओवादीबाट सो पदमा यसअघि निर्वाचित अर्घाखाँचीका उनलाई एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो । माओवादीको कारबाहीपछि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनअन्तरगतको मतदान यही १७ गते तय गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया