मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने
काठमाडौँ- सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने भएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदको विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
बैठकले असार २० गतेदेखि अजरवैजानको बाकुमा हुने असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठक र असार १८ गतेदेखि सुरु हुने उच्च अधिकारीहरूको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्रीकाे नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ भने सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकको अवधारणा पत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताइन् ।
बैठकले साउन ८ गतेदेखि अबुधावीमा हुने सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौँ बैठकमा सहभागी हुन ऊर्जामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको उनले बताइन् ।
पत्रकार सम्मेलनका सरकारका प्रवक्ता शर्माले सरकारको ध्यान सुशासनतर्फ केन्द्रित रहेकाले कुनै पनि भ्रष्टाचारको प्रकरणका दोषीलाई उन्मुक्ति दिन नसकिने स्पष्ट पारिन् । त्यस्तै उनले कोशी प्रदेशको नामकरण विरोधीहरूले आन्दोलनका क्रममा नेताहरूमाथि गरेको आक्रमणका घटनाप्रति दुख व्यक्त गर्दै यस विषयमा सरकार गम्भीर रहेको बताइन् ।
उनले कोशी प्रदेशका देखिएको समस्या समाधानका लागि केन्द्र सरकारले आवश्यक समन्वय गर्ने जिकिर गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया