राजनीति

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने शीर्ष नेताहरूबीच सहमति

इकागज |
असार १८, २०८० सोमबार १८:३९ बजे

विराटनगर- कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय गठबन्धन बाहेकका अन्य दलहरूसँगको सहकार्यबारे ठोस निर्णय नगरेको जनाइएको छ । बैठकले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता थापालाई अघि सार्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । त्यसैगरी दलहरूले सरकार गठनको अन्य प्रक्रियामा आपसी सहमति गर्दै विश्वासको मत प्राप्त गर्ने थप प्रक्रियातर्फ अघि बढ्ने निर्णय गरेको उनले बताए ।


‘कोशी प्रदेशको सरकार गठनको कुरामा संघीय सरकारको गठबन्धनमा रहेका दलहरूले नेपाली कांग्रेसको संसदीय दलको नेता उद्धव थापालाई नै गठबन्धन दलको तर्फबाट मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गर्यौं,’ उनले भने, ‘प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सिटहरूका बारेका दलहरूबीच केही कुराहरू अड्किएर बसेका छन्, समाधान गर्ने र को को मन्त्री हुने भन्ने सबैको सहमतिमा गर्ने निर्णय भएको छ ।’

कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म सरकार बन्न नसकेको भन्दै आइतबारदेखि प्रदेश समितिका सम्पूर्ण पदाधिकारीहरू राजनीतिक लविङमा केन्द्रित थिए । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवादेखि महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्देम्बे र नेता डा.शेखर कोइरालासम्मलाई भेटेर कांग्रेसकै नेतृत्वको सरकारका लागि पहल गरेका थिए ।

केन्द्रीय गठबन्धन अनुसार कोशी प्रदेशमा सरकार गठन हुँदा नेपाली कांग्रेस २९ जना प्रदेश सभा सदस्यसहित सबैभन्दा ठूलो दल रहेको छ । माओवादी केन्द्रको सभामुखसहित १३ र नेकपा एकीकृत समाजवादीको ४ सिट रहेको छ । एक सिट रहेको जसपाले पहिचानको मुद्दामा लिखित सहमति नहुञ्जेल कुनै पनि दललाई सरकारमा समर्थन नगर्ने घोषणा गरिसकेको छ ।


Author

थप समाचार
x