राजनीति

एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध

इकागज |
असार २४, २०८० आइतबार १२:२५ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध पारेको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान कायम राखेपछि आजको राष्ट्रियसभा अवरुद्ध भएको हो । 

आइतबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप गर्दै समय मागे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भगवती न्यौपानेलाई बोल्न समय दिए । 


न्यौपानेले प्रधानमन्त्री प्रचण्डले पटकपटक राष्ट्रिय स्वाधीनताविरुद्ध धावा बोलेको बताउँदै उनले राजीनामा दिनुपर्ने माग राखिन् । त्यसपछि एमाले सांसदहरु आआफ्नो स्थानबाट उठे । तिमिल्सिनाले एमाले सांसदहरुलाई बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे, तर उनीहरुले मानेनन् । 

गत सोमबार प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएको थिए । त्यसलाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध पारेको छ । 

संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आइतबार बैठक बस्ने तयारी भइरहेको छ ।

 


Author

थप समाचार
x