राजनीति

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

इकागज |
असार २६, २०८० मंगलबार २०:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनको आयोजनामा लेखक नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको आज यहाँ विमोचन गर्दै उनले सरकार र निजी क्षेत्र नमिलिकन नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताए ।


'निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको छ, सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ,' मन्त्री लिम्बूले भने । उनले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताए । इमानदार प्रयासका साथ आफू नेपालको खेल क्षेत्रको विकासमा लागेको उनको भनाइ थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सरकारले खेलकुद क्षेत्रमा कम लगानी गरेको भन्दै अहिलेको लगानीले खेलकुद क्षेत्रको विकास हुन नसक्ने बताए । उनले साउथ एशियन खेल नेपालले सुरुआत गरेको स्मरण गर्दै नेपालको खेल क्षेत्रको विकासमा शरदचन्द्र शाहको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । वरिष्ठ पत्रकार एवं समालोचक पी खरेलले पुस्तकले नेपालको खेलकुद क्षेत्रको इतिहासलाई उजागर गर्न खोजेको बताए ।

पुस्तकका लेखक अर्यालले राणाकालदेखि पञ्चायतकालसम्मको खेलकुदलाई पुस्तकमार्फत समेटिएको उल्लेख गरे । नेपालले पछिल्लो समय खेलकुद क्षेत्रमा राम्रो प्रगति हासिल गरेको उनको भनाइ थियो । 


Author

थप समाचार
x